अर्जेन्टिनी टोलीमा मेस्सीको अवस्था कस्तो छ ?

एजेन्सी, असोज २१
अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी करिब एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । आगामी शुक्रबार उनले अर्जेन्टिनाको जर्सीमा करिब झन्डै वर्षदिनपछि खेल्नेछन् । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनौट खेलअन्तर्गत अर्जेन्टिनाले एक सातामा दुई खेल खेल्दै छ ।

पहिलो खेल शुक्रबार घरेलु मैदानमा इक्वेडरसँग खेल्ने तालिका छ । सो खेल मेस्सीका लागि विशेष हुनेछ । मेस्सीले अन्तिमटक गत वर्ष २०१९ को नोभेम्बर महिनामा उरुग्वेविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए । सो खेलमा मेस्सीले पेनाल्टीमार्फत् १ गोल गरेका थिए । त्यसपछि दक्षिण अमेरिकी क्षेत्रका टिम पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा अहिले फर्किंदैछन् । र, मेस्सीका लागि पनि शुक्रबार हुने खेल एक वर्षपछिको पहिलो खेल हुनेछ ।

अक्सर राष्ट्रिय टोलीबाट उपाधि जित्न नसकेको र महत्त्वपूर्ण चरणमा राम्रो प्रदर्शन गर्न नसकेको भनेर आलोचना खेप्दै आएका मेस्सीका लागि अबका खेल विशेष हुनेछन् । ३३ वर्ष पुगेका मेस्सीका लागि सम्भवतः २०२२ को विश्वकप अन्तिम विश्वकप पनि हुनेछ । त्यसै प्रतियोगिताका लागि अर्जेन्टिनालाई छनौट गराउन मेस्सी शुक्रबारदेखि राष्ट्रिय टोलीलाई कप्तानी भूमिकामा सम्हाल्दैछन् ।

अब अर्जेन्टिनी टोलीका हरेक खेल मेस्सीका लागि व्यक्तिगत रूपमा अतिमहत्त्वपूर्ण हुनेछन् । यता, बार्सिलोनामा नयाँ सिजनको सुरुआत राम्रो गर्न नसकेका उनी राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो आत्मविश्वास फर्काउन चाहन्छन् । शुक्रबार अर्जेन्टिनाले पहिलो खेल खेल्दा दोस्रो खेल त्यसको ५ दिनमा अवे मैदानमा बोलिभियासँग हुनेछ ।

मेस्सी अर्जेन्टिनी टोलीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । यता, अन्तर्राष्ट्रिय फुटबलमा भने मेस्सी यस समयका सक्रिय खेलाडीमध्ये कूल ७० गोलसहित तेस्रो स्थानमा मात्रै छन् । उनीभन्दा अगाडि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १०१ गोलसहित पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा भारतका सुनील क्षेत्री ७२ गोलसहित दोस्रो स्थानमा छन् ।

सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा उक्लिन यस चरणका दुई खेल मेस्सीका लागि महत्त्वपूर्ण हुनेछन् । यदि इक्वेडर र बोलिभियाविरुद्धका २ खेलबाट कम्तीमा ३ गोल गर्न सके मेस्सी भारतका कप्तान सुनील क्षेत्रीलाई पछि पार्दै अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो सर्वाधिक (सक्रिय) गोलकर्ता बन्नेछन् ।

अर्जेन्टिनी टोलीमा मेस्सीको तथ्यगत अवस्था यस्तो छ :

कूल खेल – १३८
कूल गोल – ७०
कूल असिस्ट – ४२
कूल ह्याट्रिक – ६
उपाधि संख्या – ०
अवधि–वर्ष – १६

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार १२:१६
Loading...