बार्सिलोनाले ‘आइकनिक ९ नम्बर’ जर्सी ब्रेथवेटलाई दियो

एजेन्सी, असोज २०
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्नो क्लबको ‘आदर्श’ जर्सीमध्येमा पर्ने ९ नम्बर जर्सी मार्टिन ब्रेथवेटलाई दिएको छ । क्लबले आज अफिसियल रूपमा जानकारी दिँदै नयाँ सिजनमा ९ नम्बर जर्सी ब्रेथवेटले लगाउने पुष्टि गरेको छ ।

सो जर्सी यसअघि लुइस स्वारेजले लगाउँथे । क्लब इतिहासकै एक ठूला र लिजेन्ड खेलाडीमा दर्ज भएका उरुग्वेन फरवार्डले छाडेको जर्सी बार्सिलोनाले डेनिस फरवार्डलाई दिने निर्णय गरेको हो । उनी गत वर्षको जनवरी विन्डोपछि ला लिगा क्लब लेगानेसबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।

२९ वर्षीय ब्रेथवेटले बार्सिलोनामा पहिलो सिजन ११ खेल खेल्दै १ गोल गरेका थिए । यसपटक नयाँ सिजन सुरु भइकन उनले एक खेलमा पनि खेल्न पाएका छैनन् । तर, क्लबले उनलाई आकनिक जर्सी प्रदान गरेको छ । यसअघि उनले १९ नम्बस जर्सी लगाउँथे ।

सन् २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना आएका स्वारेजले क्याम्प नोउ बसाइभरि ९ नम्बर जर्सी लगाए । उनलाई बार्सिलोनाले यसै समर विन्डोमा फ्री ट्रान्सफमा एथ्लेटिको मड्रिड पठाएको थियो ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १३:२१
Loading...