‘फुटबलसँग रमाउने भए’ बार्सिलोना छाड्न ग्रीजम्यानलाई सुझाव !

एजेन्सी, असोज २०
गत समर विन्डोमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरो मूल्यमा लिग प्रतिस्पर्धी क्लब बार्सिलोना पुगेका विश्वकपविजेता एन्टोनी ग्रीजम्यान अहिले बार्सिलोनामा खराब समयसँग जुधिरहेका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले फ्रान्सको राष्ट्रिय टोलीका ७ नम्बर जर्सीधारी ग्रीजम्यानलाई मुख्य भूमिका दिने बताउँदै आए पनि दोस्रा सिजन बिताउँदै गर्दा ग्रीजम्यान ९० मिनेट खेल्ने खेलाडी बन्न सकेका छैनन् । पाएको समयमा पनि उनले लगातार कमजोर प्रदर्शन गर्दै आइरहेका छन् ।

नयाँ सिजन सुरु भइकन ग्रीजम्यानले बार्सिलोनाका ३ वटै लिग खेल खेलेका छन् । तर, उनले ३ खेल खेलिसक्दा न गोल गरेका छन्, न असिस्ट नै गरेका छन् । उनी ३ वटै खेलमा चाँडै सब्सिच्युट पनि भएका छन् । आफ्नो प्रदर्शनबाट ग्रीजम्यान आफैं खुसी छैनन् नै, प्रशिक्षक कोम्यानले पनि पछिल्लोपटक सेभिल्लासँगको खेलपछि उनको प्रदर्शनको आलोचना गरेका थिए ।

बार्सिलोना आएदेखि नै कहिले कप्तान लिओनल मेस्सीसँगको सम्बन्धलाई लिएर त कहिले पर्याप्त खेल्न नपाएर दबाब र निराशाबाट गुज्रिँदै आएका ग्रीजम्यान यतिबेला बार्सिलोनामा सबैभन्दा निराश र खराब समयमा रहेको फ्रान्सको राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक डेडिएर डेस्च्याम्पसले बताएका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भोलि राति युक्रेनसँगको खेलअघि मिडियासँग बोल्दै डेस्च्याम्पसले बार्सिलोनामा ग्रीजम्यानको अवस्थाप्रति आफ्नो धारणा राखे ।

ग्रीजम्यान पनि अहिले फ्रान्सको राष्ट्रिय टोलीमा सामेल छन् । डेस्च्याम्पसले बासिर्सलोनाका नयाँ प्रशिक्षक कोम्यानको सुरुआती नेतृत्वबाटै ग्रीजम्यान थप निराशामा पुगेको बताएका छन् । ‘मलाई यो प्रष्टसँग थाहा छ, बार्सिलोनामा अहिलेको स्थितिमा ग्रीजम्यान पटक्कै खुसी छैनन् । यदि ग्रीजम्यानले सार्वजनिक रूपमा यही कुरा बोले भने कोम्यानलाई सुन्दा त्यो नराम्रो लाग्नेछ,’ डेस्च्याम्पसले भनेका छन्, ‘बार्सिलोनामा के–के भइरहेका छन्, त्यसमा म बोल्न चाहन्नँ । तर, ग्रीजम्यान फ्रान्सको टोलीका खेलाडी भएकाले उनका बारेमा मैले बोल्नुपर्छ । किनभने, बार्सिलोनामा उनको अवस्थाले हाम्रो टोलीमा पनि फरक पर्छ ।’

डेस्च्याम्पसले यो बताएका छन् कि, कोम्यानले ग्रीजम्यानलाई सही स्थानबाट खेलाएका छैनन् । ‘कोम्यानले ग्रीजम्यानलाई किन राइट विङ्समा खेलाएका छैनन् ? वा किन सेन्टरबाट खेलाइएका छैनन् ? मैले बुझ्न सकेको छैन,’ डेस्च्याम्पसले भने ।

डेस्च्याम्पसले त यदि ग्रीजम्यान बार्सिलोनामा रहेर फुटबलसँग रमाउन सक्दैनन् भने ठूलो क्लबमा रहिरहनु समयको बर्बादी हुने बताए । डेस्च्याम्पसले घुमाउरो पारामा बार्सिलोनामा खुसी हुन नसके नयाँ विकल्प खोज्न ग्रीजम्यानलाई सुझाव पनि दिएका छन् ।

‘बार्सिलोना छाड भनेर ग्रीजम्यानलाई म सिधैं भन्न त सक्दिनँ । तर, उनीजस्ता खेलाडी फुटबल खेलेर रमाउन सक्दैनन् भने त्यही ठाउँमा रहिरहनु समयको क्षति हुन्छ । किनभने, फुटबल खेलाडीको समय ज्यादै छोटो हुन्छ । र, अहिले खुसी हुन नसकेको समय फेरि आउँदैन,’ डेस्च्याम्पसले भने, ‘मलाई लाग्छ, बार्सिलोनामा ग्रीजम्यानलाई सजिलो छैन । तर, उनले अझै केही समय पर्खेर हेर्नुपर्छ । र, त्यस समयमा आफ्ना तर्फबाट बेस्ट दिन प्रयास गर्नुपर्छ ।’

डेस्च्याम्पसले ग्रीजम्यन अझै पनि एथ्लेटिको मड्रिड फर्किन सक्ने सम्भावना आफूले देखेको पनि बताए । ‘एथ्लेटिको मड्रिड उनको घर हो । त्यहाँ उनले लामो समय बिताए । यदि कुनै दिन उनले बार्सिलोना छाडे भने उनी एथ्लेटिको फर्किन सक्न सम्भावना छ,’ डेस्च्याम्पसले भने ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १२:५७
Loading...