डेस्टले पहिलो भेटमा मेस्सीले बोलेको नबुझेपछि ……..

एजेन्सी, असोज २०
स्पेनिस बार्सिलोनाका नयाँ खेलाडी सेर्जिनो डेस्टले २ दिनअघि अफिसियल रूपमा क्याटलान क्लबका लागि डेब्यु गरे । घरेलु मैदानमा भएको सेभिल्लाविरुद्धको खेलमा उनलाई डेब्यु गराइएको थियो । उनी खेलको ७५औं मिनेटमा जोर्डी अल्को स्थानमा मैदान छिरेका थिए ।

मात्रै १९ वर्षका युवा डिफेन्डर डेस्ट अमेरिकन खेलाडी हुन् । उनलाई बार्सिलोनाले केही दिनअघि मात्रै २५ मिलियन युरो मूल्यमा डच क्लब आयाक्सबाट भित्र्याएको थियो । डेस्टलाई जर्मन क्लब बार्यन म्युनिखले पनि अनुबन्ध गर्न चाहेको थियो । तर, डेस्टले सपनाको क्लब बार्सिलोना रोजे ।

बार्सिलोनाको जर्सीमा अफिसियल डेब्यु गरेपछि डेस्टले आफ्ना अनुभव बाँडेका छन् । खेलपछि मिडियासँग कुरा गर्दै उनले पहिलो खेलपछि कप्तान लिओनल मेस्सीसँगको भेट र कुराकानीबारे पनि बताएका छन् । मेस्सीसँग पहिलोपटक आमनेसामने हुँदा आफूहरूबीच कुरा भएको तर उनले बोलेको कुरा आफूले नबुझेको डेस्टले बताएका छन् ।

सेभिल्लासँगको खेलपछि ‘बार्सा टिभी’सँग कुरा गर्दै डेस्टले भने, ‘मैले आज सबै खेलाडीलाई देखें, मेस्सीलाई पनि नजिकबाट आजै देखें । मेस्सीले अंग्रेजी बोल्न सक्दैनन् । तर, उनीसँगको भेट मेरा लागि धेरै नै विशेष थियो,’ डेस्टले भने, ‘म इमानदारीसाथ भन्दै छु, त्यसबेला मेस्सीले मलाई के भने भन्ने कुरा मैले बुझिनँ । तर, हामी दुवैले एकअर्कालाई हेरेर हाँस्यौं । सबै कुरा बिस्तारै ठीक हुँदै जानेछन् । मेस्सीसँग कुरा गर्न म सकेसम्म चाँडो स्पेनिस भाषा सिक्नेछु ।’

बार्सिलोनामा आफ्नो डेब्युबारे डेस्टले भने, ‘बार्सिलोनाजस्तो विश्वकै ठूलो क्लबबाट खेल्ने सपना सबै खेलाडीको हुन्छ । म सपना पूरा गर्नका लागि यहाँ आएको हुँ । मलाई अन्य ठाउँबाट पनि प्रस्ताव थिए । तर, मैले बार्सिलोना रोजें । म यस क्लबको खेलाडी बन्न पाउँदा ज्यादै खुसी छु । आज मेरो पहिलो दिनको खेल थियो । यो दिन मेरा लागि जीवनकै विशेष हुनेछ । म यहाँ रहँदाका हरेक समय र वर्षहरू विशेष बनाउन चाहन्छु,’ डेस्टले भने ।

डेस्टले विश्वै उत्कृष्ट खेलाडी रहेको टोलीबाट खेल्न पाउँदा आफूलाई भाग्यशाली ठान्ने बताए । ‘म मेस्सीजस्ता विश्वकै महान् खेलाडीको सहकर्मी भएर खेल्न पाउँदा आफूलाई भाग्यशाली ठान्छु । म यहाँका खेलाडी र क्लबबाट धेरै कुरा सिक्नेछु,’ डेस्टले भने, ‘मेस्सीबाट अझै धेरै कुरा सिक्नेछु ।’

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १०:०४
Loading...