म्यानचेस्टर युनाइटेडद्वारा काभानी अनुबन्धको घोषणा

काठमाडौं, असोज २०
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उरुग्वेका अनुभवी फरवार्ड इडिन्सन काभानी भित्र्याएको घोषणा गरेको छ । समर विन्डोको अन्तिम दिन युनाइटेडले फ्रेन्च क्लब पिएसजीका पूर्वफरवार्ड काभानीलाई अनुबन्ध गरेको घोषणा गरेको हो । युनाइटेडले फ्री एजेन्टमार्फत् काभानीलाई भित्र्याउन सफल भएको हो ।

युनाइटेडले काभानीसँग आगामी दुई सिजनसम्मका लागि सम्झौता गरेको छ । जसमा काभानीले युनाइटेडमा प्रतिसाता २ लाख १० हजार पाउन्ड तलब–सुविधा पाउनेछन् । काभानीका लागि यो आकर्षक सुविधा हो । युनाइटेडमा अनुबन्ध भएपछि काभानीले खुसी व्यक्त गरेका छन् ।

‘मैले आफ्नो खेल जीवनका बेला केही जोसिला समर्थकहरूको अगाडि खेलेको छु । मलाई थाहा छ, म्यानचेस्टर त्यसमध्ये एक हो । म ओल्ड ट्राफोर्डको खेलाडी भएर खेल्ने दिनको प्रतीक्षा गर्न सक्दिनँ । म साँच्चै आतुर छु,’ काभानीले भनेका छन् ।

विगतमा लामो समय पिएसजीमा बिताएका काभानीले सो क्लबका लागि ३०१ खेल खेल्दै २०० गोल गरेका छन् । उनी पिएसजीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले उरुग्वेको राष्ट्रिय टोलीका लागि ११६ खेलबाट ५० गोल पूरा गरेका छन् ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०७:४७
Loading...