शाल्केमाथि बार्यनको शानदार जित : लेवान्डोस्कीको ह्याट्रिक !

काठमाडौं, भदौ ८
जर्मन लिग बुन्डेसलिगामा साबिक च्याम्पियन टोली बार्यन म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको लिगको दोस्रो खेलमा बार्यनले शाल्केलाई उसकै घरमा ०–३ ले हरायो ।

अवे मैदानमा बार्यनको जितमा पोलिस खेलाडी रोवर्ट लेवान्डोस्की नायक बने । उनकै ह्याट्रिक गोलको मदतमा बार्यनले शानदार जित निकाल्यो ।

सुरुबाटै बार्यन हाबी भएको खेलमा २०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी गोलबाट टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ५०औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे भने ७५औं मिनेटमा उनले आफ्नो ह्याट्रिक पूरा गरे ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल बार्यनले ०–३ ले जित्यो । यो जितसँगै बार्यनले लिगमा दुई खेलबाट ४ अंक जोडेको छ । यसअघि ऊ पहिलो खेलमा बराबरीमा रोकिएको थियो ।

लेवान्डोस्कीले लिगका दुई खेलबाटै ५ गोल गरेर उत्कृष्ट लय समातेका छन् । यसअघि लिगको पहिलो खेलमा पनि उनले २ गोल गरेका थिए ।

बार्यनको आजको खेलमा दुई नयाँ खेलाडीले डेब्यु गरे । हालै बार्सिलोनाबाट अनुबन्ध भएका ब्राजिलियन फिलिपे कोउटिन्हो र इटालियन इन्टर मिलानबाट अनुबन्ध भएका क्रोएसियन इभान पेरिसिच दुवैले यसै खेलबाट डेब्यु गरेका हुन् ।

पेरिसिचलाई खेलको ५७औं मिनेटमा सेर्गी ग्यान्बीको ठाउँमा मैदान छिराइएको थियो भने कोउटिन्होलाई पनि ५७औं मिनेटमै थोमस मुलरको स्थानमा मैदान छिराइएको थियो ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १८:२४
Loading...