ग्रीजम्यानप्रति कोम्यानको विश्वास टुट्दै : सेभिल्लासँगको खेलपछि के भने ?

काठमाडौं, असोज २०
स्पेनिस फुटबल क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानको प्रदर्शनप्रति निराशाजनक प्रतिक्रिया दिएका छन् । २ दिनअघि ला लिगाअन्तर्गत घरेलु मैदानमा सेभिल्लासँग भएको खेलपछि कोम्यानले ग्रीम्यानको प्रदर्शनबारे खुलेर टिप्पणी गरेका थिए ।

बार्सिलोना आएदेखि नै डच म्यानेजरले फ्रेन्च फरवार्ड ग्रीजम्यानलाई आफूले नयाँ सिजनमा प्रमुख भूमिकामा राख्ने बताउँदै आएका थिए । विगतका प्रशिक्षकले ग्रीजम्यानलाई आफ्नो भूमिकाअनुसारको जिम्मेवारी नदिँदा उनको प्रदर्शन खस्किएको बताउँदै आफूले सही भूमिका दिएर उनको उत्कृष्ट फर्म फर्काउने कोम्यानले बताएका थिए । यतिसम्म कि, केही समयअघि लिओनल मेस्सीले क्लब छाड्ने निर्णय गरेका बेला त कोम्यानले ग्रीजम्यान अब टोलीका प्रमुख खेलाडीको भूमिमा रहने नै बताएका थिए ।

कोम्यानले ग्रीजम्यानप्रति विशेष प्रेम देखाउँदै उनलाई राम्रो स्थितिमा फर्काउन धेरै समय र भूमिका दिने बताइरहँदा ग्रीजम्यान स्वयंले भने कोम्यानको अन्डरमा सुरुआती खेलमा खराब प्रदर्शन गर्दै आएका छन् । आफूले अपेक्षा गरेजसरी ग्रीजम्यानले राम्रो लयमा खेल्न नसक्दा कोम्यान निकै निराश रहेका छन् । सेभिल्लासँगको खेलमा ग्रीजम्यानलाई ६१औं मिनेटमा सब्सिच्युट गरिएको थियो । सो खेलमा उनले बिर्सनलायक प्रदर्शन गरेका थिए ।

त्यसअघि सेल्टाविरुद्धको खेलमा पनि ग्रीजम्यानाई पहिलो हाफकै सब्सिच्युट गरिएको थियो । यसरी लगातार चाँडै सब्सिच्युट हुनुपर्दा ग्रीजम्यान आफैं निराश बनेका छन् भने उनीमाथि दबाब पनि बढ्दै गएको छ । कोम्यानले आफ्नै योजनामा ग्रीजम्यानलाई ७ नम्बर जर्सी समेत दिलाए पनि त्यसअनुसार मैदानमा साबित गर्न नसक्दा प्रशिक्षकको विश्वास टुट्दै गएको सेभिल्लासँगको खेलपछि दिएको प्रतिक्रियाबाट बुझ्न सकिन्छ । लिगका सुरुआती ३ खेलकै कुरा गर्दा पनि ग्रीजम्यानको प्रदर्शन सुध्रिनुको साटो खस्किँदो छ ।

‘ग्रीजम्यान यही स्तरका मात्रै खेलाडी हैनन्, जति उनले अहिले गरिरहेका छन् । सायद उनमा आत्मविश्वास फर्किएको छैन । मैले प्रशिक्षकका रूपमा उनलाई सहयोग गरिरहेको छु । उनको प्रदर्शनलाई म खराब मान्न सक्दिनँ । तर, उनीजस्ता खेलाडीबाट लगातार यो स्तरको प्रदर्शनले निरन्तरता पाउनु राम्रो होइन,’ कोम्यानले भने ।

सेभिल्लाविरुद्ध ग्रीजम्यानको प्रदर्शनलाई लिएर कोम्यानले असन्तुष्टि जनाए । ‘सेभिल्लाविरुद्ध ग्रीजम्यानले दुईपटक गोल गर्ने मौका पाएका थिए । उनले दुईमध्ये एक मौकामा गोल गर्न सक्नुपर्ने थियो । उनको स्तरका खेलाडीबाट ती दुवै अवसर खेर जानु राम्रो होइन,’ कोम्यानले भने ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०७:४५
Loading...