बार्सिलोनाले ‘प्रमुख योजना’का दुवै खेलाडी भित्र्याउन सकेन

एजेन्सी, असोज २०
स्पेनिस क्लब बार्सिलोनाले समर विन्डोमा प्रमुख योजनामा राखेका खेलाडी भित्र्याउन असफल भएको छ । युरोपियन टप–५ लिगमा अक्टोबर ५ तारिख खेलाडी किनबेचका लागि अन्तिम समयसीमा रहेकोमा क्याटलान क्लबले तयारी गरेअनुसार थप खेलाडी अनुबन्धको घोषणा गर्न सकेन । तर, उसले अन्तिम दिन आफ्ना २ जना खेलाडी भने बेचेको घोषणा गरेको छ ।

बार्सिलोनाले फ्रेन्च डिफेन्डर तोडिबोलाई दुई सिजनका लागि लोनमा पोर्चुगिज क्लब बेनफिकामा पठाएको छ । अर्का ब्राजिलियन मिडफिल्डर राफिन्हालाई फ्री ट्रान्सफरमा फ्रेन्च क्लब पिएसजी पठाएको छ । त्यसबापत उसले ३ मिलियन युरो बोनस रकम पाउनेछ ।

बार्सिलोनाले समर विन्डो बन्द हुनुअघि २ जना खेलाडी भित्र्याउन प्रयास गरेको थियो । जसमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका युवा डिफेन्डर इरिक गार्सिया प्राथमिकतामा थिए । २० वर्षका युवा डिफेन्डर भित्र्याउनकै लागि बार्सिलोनाले अघिल्लो साता मात्रै आफ्ना पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडोलाई इंग्लिस क्लब उल्भ्समा बेचेको थियो ।

तर, सेमेडो बेचेर युवा खेलाडी ल्याउने बार्सिलोनाको प्रयास तत्कालै सफल भएन । त्यसका लागि उसले अब कम्तीमा आगामी जनवरी विन्डोसम्म पर्खिनुपर्ने छ । सिटी र बार्सिलोनाबीच गार्सियाका लागि सरुवा रकम र खेलाडीले पाउने सेवासुविधामा सहमति बन्न नसक्दा डिल हुन नसकेको बताइएको छ ।

त्यसैगरी, बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले प्रमुख योजनामा राखेका फ्रेन्च क्लब लियोनका डच फरवार्ड मेम्पिस डिपे भित्र्याउने प्रयास पनि असफल भएको छ । कोम्यानले डिपेलाई पूर्वखेलाडी लुइस स्वारेजको स्थानमा भित्र्याउन जोडबल गरे पनि दुई क्लबबीच डल पक्का हुन सकेन । यसअघि सरवा बजारको अन्तिम घन्टासम्म भए पनि बार्सिलोनाले डिपे भित्र्याउने सम्भावना देखिएको थियो ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०४:५६
Loading...