को हुन् युभेन्टसले अन्तिम दिन भित्र्याएका युवा फरवार्ड ?

काठमाडौं, असोज २०
इटालियन क्लब युभेन्टसले समर ट्रान्सफर विन्डोको अन्तिम दिन एकजना नयाँ खेलाडी भित्र्याएको छ । उसले लिग प्रतिस्पर्धी क्लब फियोरेन्टिनाबाट लोन सम्झौतामा युवा फरवार्ड फेडरिको किइजालाई अनुबन्ध गरेको हो । २२ वर्षीय उनी इटालीको राष्ट्रिय टोलीका खेलाडी पनि हुन् ।

युभेन्टसले अघिल्लो दिन मात्रै आफ्ना ब्राजिलियन खेलाडी डग्लस कोस्टालाई लोनमा बार्यन म्युनिख पठाएपछि किइजालाई भित्र्याएको हो । किइजा दुई सिजन युभेन्टसमा रहनेछन् । नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोले नयाँ सिजनका लागि गतिशील टोली बनाउन अर्का युवा खेलाडी भित्र्याएका हुन् ।

किइजा खास गरी विङ पोजिसनबाट खेल्छन् । तर, उनी मिडफिल्ड र फरवार्ड लाइनमा पनि उत्तिकै प्रभावशाली ढंगले खेल्न सक्ने क्षमताका खेलाडी हुन् । क्लब फुटबलमा उनले आफ्नो करिअरको सुरुआत फियोरेन्टिनाबाटै गरेका थिए । सिजन २०१६–१७ मा सिनियर टोलीबाट खेल्न थालेका उनले सो क्लबका लागि १५३ खेल खेल्दै ३४ गोल गरेका छन् ।

गत सिजन २०१९–२० मा उनले फियोेरेन्टिनाका लागि कूल ३७ खेल खेल्दै ११ गोल गरेका थिए भने ११ गोलमा असिस्ट प्रदान गरेका थिए । नयाँ सिजन सुरु भइकन उनले ३ खेल खेल्दै १ गोल गरेका थिए ।

किइजा युभेन्टसका लागि फरवार्ड लाइनमा निकै प्रभावशाली हुने अपेक्षा गर्न सकिन्छ । किभने, उनमा विभिन्न पोजिसनबाट खेल्न सक्ने खुबी छ भने उनी क्रिएटिभ प्ले मेकर पनि हुन् । उनको गोल संख्या र असिस्ट संखयाबाटै उनी युभेन्टसका लागि कति उपयोगी खेलाडी हुन सक्छन् भने थाहा पाउन सकिन्छ ।

किइजाको अनुबन्धपछि अब युभेटन्सको आक्रमण लाइन थप धारिलो बन्ने पक्का छ । यसअघि नै स्पेनिस एथ्लेटिको मड्रिडबाट लोनमै अल्भारो मोराटा युभेन्टस पुगिसकेका छन् । अब पिर्लोको नेतृत्वमा आक्रमण लाइनमा क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, अल्भारो मोराटा र फेडरिको बर्नान्डेची हुनेछन् । मिडफिल्डमा अर्थुर मेलो, डेजान सुलुसेभ्स्की, वेस्टन म्याकेनीसहितका युवा खेलाडी यसै समर विन्डोमा आइपुगेका हुन् ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०२:३६
Loading...