सेभिल्लासँगको प्रदर्शनबाट कोम्यान असन्तुष्ट : खेलपछि के–के भने ?

काठमाडौं, साउन १९
स्पेनिस फुटबल क्लब बार्सिलोनाले गत राति भएको लिगको तेस्रो खेल आफ्नो घरेलु मैदानमा पाहुना टोली सेभिल्लासँग १–१ को कठिन बराबरी खेल्यो । आफ्नै घरमा पाहुना टोलीविरुद्ध चर्को दबाबमा परेको बार्सिलोनाले तुलनात्मक रूपमा अघिल्ला खेलहरूभन्दा निकै कमजोर प्रदर्शन गरेको थियो ।

टोलीका सबैजसो प्रमुख खेलाडी लिएर उत्रिएको बार्सिलोनाले खेलभरिमा कूल ५५ प्रतिशत आफ्नो पक्षमा राखेको थियो । सोक्रममा उसले १२ पटक सेभिल्लाको पोस्टमा आक्रमण बुन्दा मात्रै ५ पटक सही दिशामा हानेको थियो । यता, पाहुना टोली सेभिल्लाले खेलभरिमा जम्मा १३ पटक बार्सिलोनाको पोस्टमा आक्रमण बुन्दा मात्रै एक प्रहार सही दिशामा हानेको थियोे । त्यही प्रहारमा उसले गोल पनि हान्यो ।

आफ्नो घरमा आठौं मिनेटमै गोल खाएर पछि परेको बार्सिलोनाका लागि १०औं मिनेटमै फिलिपे कोउटिन्होले बराबरी गोल गरेका थिए । त्यसपछि बाार्सिलोनाले पटक–पटक गोलका अवसर सिर्जना गरे पनि सफल भएन । सो खेलमा कप्तान लिओनल मेस्सीले सधैंझैं प्रभाव जमाउन सकेनन् ।

नतिजा र प्रदर्शनबाट कोम्यान असन्तुष्ट

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान गत राति सेभिल्लासँगको खेल र नतिजबाट खुसी हुन सकेनन् । खेलपछि पत्रकार सम्मेलनमा सहभागी हुँदै उनले सेभिल्लासँगको नतिजा खराब नरहे पनि प्रदर्शन सोचेअनुरूप हुन नसकेको बताए । आफ्नो घरमा स्पष्ट जित निकाल्न नसक्नु राम्रो नतिजा नरहेको उनले बताए ।

‘घरेलु मैदानमा बराबरी नतिजा राम्रो होइन । हामीलाई स्पष्ट जित आवश्यक थियो,’ कोम्यानले भने, ‘तर, सेभिल्लाजस्तो मजबुत टिमसँग बराबरी नतिजा पनि खराब होइन । हामीले यस खेलमा थुप्रै कमजोरी छाड्यौं ।’

कोम्यानले सेभिल्लाले साँच्चै उत्कृष्ट खेलेको बताउँदै तारिफ गरे । शारीरिक रूपमा आफ्ना खेलाडीभन्दा सेभिल्लाका खेलाडी माथि रहेको पनि कोम्यानले बताए । ‘यो एक कठिन खेल थियो । उनीहरूले हामीलाई खेलभरि नै दबाबमा राखे । हामीले सोचअनुसार खेल्नै सकेनौं । समस्या त्यहीं थियो । उनीहरूले हामीविरुद्ध साँच्चै उत्कृष्ट खेले । खेलकै कुरा गर्दा हामीभन्दा उनीहरू ज्यादा जितको हकदार थिए ।’

कोम्यानले आफ्ना खेलाडीको प्रदर्शन मध्यमखालको रहेको बताए । ‘म नतिजासँग असन्तुष्ट छु । खेलाडीले औसत खेल खेले । हाम्रा खेलाडी निकै थकित देखिन्थे । तर, हामीले अन्तिम समयसम्म लड्यौं । हामीले घरमा हार पन्छायौं । खेलमा पहिला गोल खाँदा सधैं दबाब बढ्छ,’ कोम्यानले थपे ।

कोम्यानले कोउटिन्होले लगातार राम्रो प्रदर्शन गरिरहेको बताउँदै उनमा क्रमशः आत्मविश्वास बढ्दै गएको बताए । ‘कोउटिन्होबाट ज्यादै खुसी छु । उनले लगातार राम्रो गरिरहेका छन् । उनमा हरेक खेलबाट आत्मविश्वास बढ्दै गएको छ, जुन उनलाई आवश्यक थियो । मलाई आशा छ, उनले आगामी दिनमा पनि अझै राम्रो गर्नेछन्,’ कोम्यानले थपे ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार १३:०२
Loading...