सिरी ए : युभेन्टसको विजयी सुरुआत

काठमाडौं, भदौ ७
इटालियन सिरी ‘ए’ लिग फुटबलमा साबिक च्याम्पियन युभेन्टसले विजयी सुरुआत गरेको छ । आज भएको लिगको उद्घाटन खेलमा युभेन्टसले अवे मैदानमा ०–१ को साँघुरो जित निकाल्यो ।

पार्माको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि कप्तान जर्जियो चिलिनीले गरेको १ मात्रै गोल जितका लागि निर्णायक भयो । उनले खेलको २१औं मिनेटमा गोल गरेका थिए ।

युभेन्टसले सुरुआतमा ०–१ को अग्रता बनाएर अन्तिम समयसम्म त्यसैलाई जोगाएर लिगको पहिलो खेलमा स्पष्ट जित निकाल्यो ।

पहिलो हाफमा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले निकै दर्शनीय गोल गरेका थिए । तर, रेफ्रीले पछि भिएरआको सहयोग लिएर सो गोल अफसाइड रहेको भन्दै रद्द गरिदिएका थिए । रोनाल्डोले नयाँ सिजनको पहिलो खेलमै गोल गरेर मनाएको खुसीयाली पनि भिएआरले खोस्दा उनी निकै निराश देखिएका थिए ।

यो जितसँगै युभेन्टसले पहिलो खेलबाट ३ अंक बटुलेर लिगको शीर्ष स्थानमा रहेको छ । पराजित पार्मा सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १८:१०
Loading...