एकै खेलमा ७ गोल खाँदा लिभरपुलका नाममा बन्यो इतिहासकै खराब रेकर्ड

काठमाडौं, असोज १९
इंग्लिस प्रिमियर लिग फुटबलमा गत सिजन २०१९–२० को च्याम्पियन टोली लिभरपुलका नाममा ऐतिहासिक खराब रेकर्ड बनेको छ । जोर्गेन क्लोपको नेतृत्वमा रहेको लिभरपुल अब प्रिमियर लिगको इतिहासमै एकै खेलमा सबैभन्दा धेरै ७ गोल खाने ‘पहिलो डिफेन्डिङ च्याम्पियन’ टिम बनेको छ ।

गत राति लिगको चौथो खेल खेल्न एस्टोन भिल्लाको घरेलु मैदानमा पुगेको लिभरपुल ७–२ को बेइज्जतीपूर्ण हारको सिकार भयो । घरेलु टोली भिल्लाले साबिक च्याम्पियनविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै ७१ मिनेटको बीचमा ७ गोल हानेर लिभरपुलको धुलाइ गरेको थियो ।

खेलको चौथो मिनेटबाट गोल गर्न थालेको भिल्लाले ७५औं मिनेटमा पुग्दा ७ गोल गरिसकेको थियो । पराजित लिभरपुलका लागि मोहमद सालाहले २ गोल गरे । अवे मैदानमा गोलको भारी बोकेको लिभरपुल अब लिगमा एकै खेलमा ७ गोल खााने पहिलो साबिक च्याम्पियन टिम बनेको छ ।

यसअघि कुनै पनि साबिक विजेताले यसरी च्याम्पियन बनेको अर्को सिजनमा एकै खेलमा ७ गोल खाएका थिएनन् । अब लिभरपुलले लिगका सुरुआती ४ खेल खेलेर ३ खेल जितेको छ भने १ खेल हारेको छ । ऊ ९ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार १२:०७
Loading...