नापोलीसँग नखेलेको खेल युभेन्टसले ३–० ले जित्ने !

एजेन्सी, भदौ १९
इटालियन सिरी ए लिग फुटबलमा गत रातिका लागि युभेन्टस र नापोलीको खेल तय भएको थियो । युभेन्टसको घरेलु मैदानमा हुने सो खेल दुवै टोलीका लागि तेस्रो खेल थियो । तर, सो खेल प्राविधिक कारणले हुन सकेन । सो खेलका लागि युभेन्टसले आफ्नो टोली घोषणा, प्लेइङ–११ घोषणा गर्दै आफ्ना खेलाडी निर्धारित समयमा खेल मैदानमै उतारेको थियो ।

तर, पाहुना टोली नापोली सो खेलमा सहभागी नै भएन । आफ्ना २ जना खेलाडीमा कोरोना संक्रमण देखिएपछि नापोलीले एकपक्षीय रूपमा खेलमा सहभागिता जनाएन । उसले खेलमा सहभागी नहुने विषयसँग प्रतिस्पर्धी क्लब, सिरी ए लिग साथै इटालियन फुटबल संघसँग पनि समन्वय गर्नुपर्ने थियो ।

तर, नापोलीले यी कुनै निकायसँग समन्वय नगरेको बताइएको छ । नापोलीले कुनै अफिसियल जानकारी र अपिल नगरेपछि सिरी ए लिगले खेल हुन १२ घन्टा बाँकी छँदा पनि अफिसियल रूपमा युभेन्टस र नापोलीको खेल निर्धारित समयमै हुने प्रेस नोट जारी गरेपछि युभेन्टसले सधैंझैं खेलका लागि आफ्ना सबैखाले तयारी गरेको थियो ।

युभेन्टस सधैंझैं सबै प्रक्रिया पूरा गरेर खेल मैदानमा उत्रिए पनि नापोलीले युभेन्टससँग खेल्न टुरिन यात्रा नै गरेन । खेल समयमा युभेन्टसका खेलाडी र रेफ्री मैदानमा उत्रिँदा मैदानको अर्कोपट्टी खाली थियो । यसको अर्थ युभेन्टसले खेलका लागि सबै प्रक्रिया पूरा गरेको थिायो भने नापोली रंगशालासम्म पनि पुगेन । नापोली क्लब रहेको स्थानीय स्वास्थ्य अधिकारीले कोरोनाको जोखिम बढ्ने भन्दै खेलाडीलाई टुरिन यात्रा नगर्न निर्देशन दिएको बताइएको छ ।

खेलको समय गुज्रिएपछि नापोलीका अधिकारीले आफ्ना खेलाडीसहित स्टाफमा कोरोना देखिएपछि युभेन्टससँग खेल्न टुरिन यात्रा नगरेको बताएका छन् । तर, नापोलीको शैली र कदम नियमसंगत नहुने इटालियन मिडियाले जनाएका छन् ।

युइएफएले टप–५ लिगमा कोरोना भाइरसको महामारीबीच लागू गरेको ‘कोरोना प्रोटोकल’ अनुसार कुनै एक टिमका कम्तीमा ४ जनासम्म खेलाडी कोरोनाबाट संक्रमित भएको खण्डमा र सो क्लबले खेल स्थगित गर्न अनुरोध गरे खेल स्थगित हुनसक्छ । तर, त्यसका लागि पनि अर्को क्लब, लिग र स्थानीय सुरक्षा निकायबीच समन्वय गर्नुपर्छ । तर, नापोलीले यी कुनै प्रक्रिया नगरेको बताइएको छ ।

युभेन्टसलाई स्वतः ३–० को जित दिइने

युइएफएको नियमअनुसार यदि कुनै पनि टिम खास कारणबिना र सम्बन्धित निकायको अनुमतिबिना कुनै बहानमा निर्धारित खेलमा सामेल नभए खेल्न तयार अर्को टोलीलाई स्वतः ३–० ले विजयी घोषणा गरिनेछ । इटालियन मिडियाका अनुसार नापोलीले खेल समयमा निर्धारित रंगशालामा नपुगेको तर युभेन्टस खेल्नका लागि तयार रहेकाले नियमअनुसार लिगले युभेन्टसलाई ३–० को विजेता घोषण गर्नेछ ।

हालसम्म लिगले यसबारे औपचारिक निर्णय गरिसकेको छैन । उसले ३ दिनभित्रमा यस विषयमा निर्णय गर्नेछ । लिगले यस्तो निर्णय गरेको खण्डमा नापोलीले बाध्य भएर त्यसलाई स्वीकार्नुपर्छ । लिगले यस्तो निर्णय गर्ने थुप्रै आधार छन् । जस्तो कि, नापोलीका ४ जनासम्म खेलाडीमा कोरोना नदेखिएको, नापोलीले खेल स्थगित गर्न अफिसियल रूपमा लिगसँग माग नगरेको, युभेन्टससँग नखेल्न र खेल सार्न समन्वय नगरेको, कोरोना संक्रमित खेलाडीको रिपोर्ट लिग र फुटबल संघमा नबुझाएको आदि ।

यी कारण र आधारमा लिगले नापोलीको खेल नखेल्ने कदमलाई गल्ती ठहर गर्दै सजायस्वरूप स्वतः युभेन्टसलाई विजयी घोषणा गर्न पाउनेछ । साथै, नापोलीलाई आर्थिक जरिमाना पनि तिराउनेछ । यदि नापोलीले आफ्ना ४ जनासम्म खेलाडीमा कोरोना संक्रमण देखिएको उनीहरूको रिपोर्टसहित लिगसँग खेल स्थगित गर्न अनुरोध गरेको खण्डमा लिगले खेलको अन्तिम समयसम्म खेल स्थगित गर्न सक्ने थियो । तर, नापोलीले कुनै पनि प्रक्रिया पूरा नगरेकाले उसले युभेन्टससँग खेल्दै नखेलेको खेलमा ३–० को हार स्वीकार्नुपर्ने भएको छ ।

तर, अझै पनि क्लब युभेन्टसले सहमति जनाएको खण्डमा भने लिगले यो खेललाई स्थगित गरेको घोषणा गरेर अर्को मिति घोषणा गर्न सक्नेछ । तर, त्यसका लागि युभेन्टस राजी हुनुपर्छ । यदि युभेन्टस राजी नभए नापोलीले खेलको अर्को मिति तोक्न अपिल गरे पनि कानुनी रूपमा त्यो व्यर्थै हुनेछ ।

सिरी ए लिगमा हाल नापोली र युभेन्टसले समान २–२ खेल खेलेका छन् । जसमा नापोलीले यसअघिका २ वटै खेल जितेर ६ अंकसहित पाँचौं स्थानमा भने युभेन्टस एक खेलमा जित र एक बराबरीसहित ४ अंक बनाएर आठौं स्थानमा छ । ३ खेलमा सबै खेल जितेको एटलान्टा ९ अंकसहित शीर्ष स्थानमा छ ।

युरोपियन टप–५ लिगमा अहिलेलाई क्लब फुटबल स्थगित भएका छन् । र, खेलाडीहरू अब अन्तर्राष्ट्रिय ड्युटीमा जानेछन् । अन्तर्राष्ट्रिय ब्रेक दुई सातालाई हुनेछ । यस बीचमा युरोपियन देशहरूले मैत्रीपूर्ण खेलसहित युयएफए नेसन्स लिगका खेल खेल्नेछन् भने अन्य महादेशका टिमले सन् २०२० का लागि फिफा विश्वकपको छनौट खेल खेल्नेछन् ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०६:०८
Loading...