नाटकीय खेलमा बार्यनको रोमाञ्चक जित : लेवान्डोस्की एक्लैले ठोके ४ गोल !

काठमाडौं, असोज १७
दुई दिनअघि मात्रै युइएफए बेस्ट प्लेयर अफ् द इयर अवार्ड जितेका रोवर्ट लेवान्डोस्की एक्लैले ४ गोल गरेपछि उनको टिम बार्यन म्युनिखले बुन्डेसलिगा फुटबलमा रोमाञ्चक जित दर्ता गरेको छ । आइतबार राति भएको लिगको तेस्रो खेलमा बार्यनलाई जिताउन लेवान्डोस्की नायक बने । उनले १ पेनाल्टी गोलसहित ४ गोल गरेर पाहुना टोली हर्थालाई ४–३ ले हराउन प्रमुख भूमिका खेले ।

बार्यनले खेलको ५१औं मिनेटमा पुग्दा २–० को सहज अग्रता बनाएको थियो । तर, खेलको ७१औं मिनेटमा पुग्दा हर्थाले लगातार २ गोल गरेर खेल बराबरी बनायो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट ३ गोल भए । हर्थाले दुईपटक खेलमा कमब्याक गरे पनि इन्जुरी समयमा बार्यनले पेनाल्टी गोल गरेपछि बार्यनको जित पक्का भयो ।

बार्यनका लागि लेवान्डोस्कीले खेलको ४०औं र ५१औं मिनेटमा २ गोल गरेपछि बार्यन २–० को सहज स्थितिमा थियो । तर, हर्थाका लागि खेलको ५९औं मिनेटमा जोन कारडोबाले गोल गरेर गोल दूरी छोट्याउँदा ७१औं मिनेटमा माथेउस कुन्हाले गोल गरेर खेल २–२ बनाए ।

त्यसपछि ८५औं मिनेटमा बार्यनका लागि लेवान्डोस्कीले नै गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । तर, खेलको ८८औं मिनेटमा हर्थाका लागि जेसिस गानकामले गोल गरेर पुनः खेललाई ३–३ बनाए । रोमाञ्चक खेल बराबरीतर्फ धकेलिएका बेला थपिएको समयको तेस्रो मिनेटमा बार्यनका लागि लेवान्डोस्कीले पेनाल्टी गोल गरेर टिमलाई ४–३ को दिलाए भने एकै खेलबाट आफ्नो नाममा ४ गोल लेखाउन सफल भए ।

अब यो जितपछि बार्यनले लिगका ३ खेल सकिँदा ६ अंक जोडेर चौथो स्थानमा छ । पराजित हर्था ३ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार १७:३२
Loading...