युनाइटेडको पोस्टमा टोटनह्यामले ठोक्यो आधा दर्जन गोल !

काठमाडौं, असोज १७
दक्षिण कोरियन फरवार्ड सन हेङ–मिन र ह्यारी केनले २–२ गोल गरेपछि टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा लज्जास्पद हारको सिकार बनाएको छ । आइतबार राति भएको आफ्नो चौथो खेलमा तेस्रो खेल खेलिरहेको युनाइटेडको पोस्टमा पाहुना टोली टोटनह्यामले आजधा दर्जन गोलको वर्षा नै गरिदियो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली खेलको २८औं मिनेटमै १० खेलाडीमा झरेको थियो । एन्थोनी मार्सियाले सोझै रातो कार्ड पाएर मदान छाड्नु परेपछि घरेलु टोली संकटमा धकेलिएको थियो । रातो कार्डपछि १० खेलाडीमा झरेको युनाइटेडले टोटनह्यामको दबाब थेग्नै सकेन ।

टोटनह्यामले पहिलो हाफमा ४ गोल गरेर २ गोल दोस्रो हाफमा गरेको थियो । जसमा सनले २ गोल र १ असिस्ट गरे भने ह्यारी केनले १ पेनाल्टी गोलसहित २ गोल गरे । खेलमा अग्रता भने युनाइटेडले खेल सुरु भएको २ मिनेटमै लिएको थियो । पेनाल्टीमार्फत् ब्रुनो फर्नान्डेजले सो गोल गरेका थिए ।

तर, त्यसको २ मिनेटमै टोटनह्यामका लागि टाङ्गे डोम्बेलेले गोल गर्दै खेल १–१ बनाए । त्यसको ३ मिनेटमै सनले टोटनह्यामका लागि गोल गर्दै घरेलु टोलीलाई १–२ ले पछि पारेका थिए । त्यसपछि खेलको ३०औं मिनेटमा केनले गोल गरे भने ३७औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटनह्यामले १–४ ले फराकिलो अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफमा टोटनह्यामले २ गोल थप्यो । खेलमा फर्किन लगातार संघर्षरत युनाइटेडमाथि एकपक्षीय हाबी भएको टोटनह्यामका लागि ५१औं मिनेटमा सेर्गे औरियरले गोल गरेर टिमको गोल संख्या ५ बनाए । त्यसपछि खेलको ७९औं मिनेटमा टोटनह्यामले पनि पेनाल्टी पायो ।

बक्सभित्र युनाइटेडका खेलाडी पाउल पोग्बाले लडेको अवस्थामा ह्यान्ड बल गरेपछि रेफ्रीले टोटनह्यामलाई पेनाल्टीको मौका दिएका थिए, जसमा केनले गोल गर्दै टिमको १–६ को जित पक्का गरे ।

अब यो जितपछि टोटनह्यामले लिगका सुरुआती ४ खेल सकिँदा २ खेल जितेर १ खेल बराबरी गरेको छ भने १ खेल हारेको छ । ऊ ७ अंकसहित पाँचौं स्थानमा छ । पराजित युनाइटेड ३ खेलपछि मात्रै ३ अंकसहित १६औं स्थानमा रहेको छ ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार १७:०२
Loading...