प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड आफ्नै घरमा पराजित

काठमाडौं, भदौ ७
म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबलमा आफ्नै घरमा पराजित भएको छ । शनिबार राति भएको लिगको तेस्रो खेलमा युनाइटेडलाई पाहुना टोली क्रिस्टल प्यालेसले १–२ ले निराश बनायो ।

आफ्नो घर ओल्ड ट्राफोर्डमा भएको खेलमा मार्कुस रासफोर्डले पेनाल्टी चुकाउँदा युनाइटेडले सिजनको पहिलो हार भोग्यो । निकै प्रतिस्पर्धात्मक खेलमा क्रिस्टलले खेलको ३२औं मिनेटमा जोर्डन आएइको गोलबाट अग्रता लिएको थियो । सोही गोलको मदतमा प्यालेसले पहिलो हाफमा अग्रता बनायो ।

दोस्रो हाफको ७०औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो । तर, रासफोर्डको पेनाल्टी पोलमा लाग्दै बाहिरिएपछि युनाइटेडलाई झट्का लागेको थियो ।

त्यसपछि खेलको ८९औं मिनेटमा युनाइटेडका लाागि ड्यानिएल जेम्सले गोल गरेर खेल १–१ बनाए । त्यसपछि खेल बराबरीतर्फ अघि बढेका बेला थप समयमा क्रिस्टलका लागि प्याट्रिक भानले गोल गरेपछि खेल क्रिस्टलले १–२ ले जित्यो ।

यो हारपछि युनाइटेड ३ खेलबाट ४ अंकमै सीमित भएको छ भने क्रिस्टलले खातामा ४ अंक बनाएको छ ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १७:०६
Loading...