युभेन्टससँग खेल्न नापोली टुरिन नजाने : अब के होला ?

एजेन्सी, असोज १७
इटालियन सिरी ए लिग फुटबलमा आज रातिका लागि तय भएको युभेन्टस र नापोलीबीचको खेल थप अनिश्चित बनेको छ । यो समाचार बनाउँदासम्म सो खेल हुने र नहुने केही पनि टुंगो भएको छैन । युभेन्टसले नापोलीविरुद्ध आफ्नो घरेलु मैदानमा हुने खेलका लागि प्रारम्भिक टोली घोेषणा गरे पनि नोपालीले हालसम्म टोली घोषणा गरेको छैन ।

नापोलीका २ जना खेलाडीसहित केही स्टाफमा कोरोना देखिएपछि स्थानीय स्वास्थ्य अधिकारीले नपोलीका खेलाडीलाई युभेन्टससँग खेल्न टुरिन यात्रा नगर्न निर्देशन दिएपछि खेल हुनेमा अनिश्चितता बढेको थियो ।

यसैबीच, इटालियन मिडियामा प्रकाशित ताजा रिपोर्टअनुसार नापोली आज रातिको खेलका लागि युभेन्टसको मैदान नजाने भएको छ । उसले कोरोनाको जोखिमबीच युभेन्टससँगको खेल नेखल्ने गरी सहर नछाडेको खबर छ ।

खेलको निर्धारित समय भन्दा १÷२ घन्टा अघिसम्म युभेन्टस, नापोली र सिरी ए लिगबीच खेल स्थगित गर्ने विषयमा सहमति जुट्ने सम्भावना छ । तर, लिगले भने आज सबेरै सामाजिक सन्जालमार्फत् जानकारी दिँदै खेल नसर्ने बताइसकेको छ ।

यदि नापोली एकपक्षीय रूपमा खेलमा सहभागी नभए र युभेन्टस निर्धारित तालिकाअनुसार खेल समयमा मैदान उत्रिए नियमअनुसार युभेन्टसलाई स्वतः ३–० ले विजयी घोषणा गरिनेछ । तर, त्योभन्दा पहिला सबै पक्षबीच खेल स्थगित गर्ने विषयमा सहमति बनाउन प्रयास हुनेछ ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार १४:१७
Loading...