‘म्यानचेस्टर सिटीको धुलाइ गर्ने’ लेस्टर सिटीको वेस्ट ह्यामद्वारा घरमै नमिठो धुलाइ !

काठमाडौं, असोज १७
इंग्लिस प्रिमियर लिग फुटबलमा गत आइतबार पेप ग्वार्डिओलाको टिम म्यानचेस्टर सिटीलाई उसकै घरमा २–५ ले रामधुलाइ गरेको लेस्टर सिटीको वेस्ट ह्यामले नमिठो धुलाइ गरेको छ । आज भएको लिगको चौथो खेलमा वेस्ट ह्यामले लेस्टरलाई उसकै घरेलु मैदानमा ०–३ को लज्जास्पद हारको सिकार बनाउँदै उसको शतप्रतिशत विजयी यात्रामा पूर्णविराम लगाइदियो ।

आफ्नो घरेलु मैदानमा तुलनात्मक रूपमा कमजोर मानिएको वेस्ट ह्यामविरुद्ध लेस्टरले यति खराब खेल्यो कि, उसले खेलभरि जम्मा ४ पटक मात्रै विपक्षीको पोस्टमा आक्रमण बुनेको थियो । जहाँ उसले एकपटक पनि सही दिशामा प्रहार गर्न सकेन ।

यता, पाहुना टोली वेस्ट ह्यामले लेस्टरको घरमा उत्कृष्ट रक्षात्मक र आक्रामक खेलको नमूना पस्किँदै घरेलु टोलीलाई बिर्सनलायक हार चखायो । उसले लेस्टरविरुद्ध कूल १४ आक्रमण बुन्दा ६ पटक सही दिशामा हानेको थियो । वेस्ट ह्यामले खेलमा ३० प्रतिशत मात्रै बल आफ्नो पक्षमा राखेको थियो ।

वेस्ट ह्यामका लागि खेलको १४औं मिनेटमा मिकेल एन्टोनियोले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ३४औं मिनेटमा पाब्लो फोर्नाल्सले गोल गर्दै पहिलो हाफमा टिमलाई ०–२ को सहज अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा खेलमा फर्किन संघर्षरत लेस्टरका सबैखाले प्रयास खेर गए ।

सोहीक्रममा वेस्ट ह्यामका जारोड बोएनले ८३औं मिनेटमा गोल गर्दै खेललाई ०–३ बनाए । र, टिमको एकपक्षीय शानदार जित पक्का गरे । खेलको इन्जुरी समयमा घरेलु टोली लेस्टरका लागि हार्भे बार्नेजले गोल गरे पनि रेफ्रीले भिएआरमार्फत् सो गोल रद्द गरिदिएपछि घरेलु टोलीको सान्त्वना गोल पनि खोसियो ।

यो हारसँगै लेस्टरले विजयी यात्रामा पनि पूर्णविराम लागेको छ । उसले यसअघिका ३ वटै खेल जितेर शतप्रतिशत विजयी यात्रा जारी राखेको थियो । तर, लिगको चौथो खेलमा वेस्ट ह्याम उसका लागि भिलेन बन्यो ।

अब लेस्टर ४ खेलबाट ९ अंक बनाएर दोस्रो स्थानमा यथावत छ । शीर्ष स्थानमा ४ वटै खेल जितेको एभर्टन रहेको छ । लेस्टलाई हराएको वेस्ट ह्याम ४ खेलबाट ६ अंक जोडेर सातौं स्थानमा चढेको छ ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार १३:०६
Loading...