रोनाल्डोको मेहनत देखेर पिर्लो मक्ख : यसरी गरे प्रशंसा

काठमाडौं, असोज १७
इटालियन क्लब युभेन्टसका प्रमुख प्रशिक्षक आन्ड्रेया पिर्लोले आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । सिरी ए लिगमा तेस्रो खेलमा नापोलीविरुद्ध खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै उनले ३५ वर्षीय रोनाल्डोको मेहनत र आत्मविश्वासको खुलेर तारिफ गरे ।

पिर्लोले आफ्नो जीवनमा रोनाल्डोजस्तो मेहनती र समर्पित खेलाडी कोही नदेखेकोे बताए । पोर्चुगलका फरवार्ड रोनाल्डो क्लबको प्रशिक्षण क्याम्पमा सबैभन्दा चाँडो आउने र सबैभन्दा अन्तिम जाने गरेको बताए । साथै, बिदाको दिन पनि उनले एक्लै प्रशिक्षण गर्ने बताए । ‘रोनाल्डो यो उमेरमा पनि धेरै मेहनत गर्छन् । उनी ट्रेनिङमा सबैभन्दा पहिला आइपुग्छन् र सबैभन्दा अन्तिममा जान्छन् । उनी अन्य खेलाडी बिदामा घर बस्दा पनि उनी एक्लै प्रशिक्षण गरिरहेका हुन्छन्,’ पिर्लोले भनेका छन्, ‘उनीजस्तो मेहनती खेलाडी मैले मेरो सिंगो करिअरमा कोही देखेको छैन । उनी साँच्चै समर्पित खेलाडी हुन् ।’

रोनाल्डोले टिममा सधैं उत्साह र ऊर्जा ल्याउनले पिर्लोले बताए । ‘उनले टिममा उत्साह ल्याउँछन् । मैदानमा पनि त्यो स्पष्टै देखिन्छ । उनले नयाँ सिजनको सुरुआत राम्रोसँग गरेका छन् । मलाई आशा छ, उनले अन्तिमसम्मै यस्तै लयलाई कायम राख्नेछन्,’ पिर्लोले थपे ।

पिर्लोले रोनाल्डोले आफू खेलेका हरेक खेलमा गोल गर्नेमा आफू आशावादी रहेको भन्दै उनी मैदानमा हुँदा टिमले धेरै गोल पाउने बताए । ‘उनले हरेक खेलमा १ वा २ गोल गर्नेमा म ढुक्क छु । उनी हाम्रा लागि ज्यादै महत्त्वपूर्ण खेलाडी हुन् । रोमाविरुद्ध खेल्दा उनले टिमलाई कठिन अवस्थामा सम्हालेर अघि बढाए । र, अन्तिम समयसम्म लडेर २ गोल गरे,’ पिर्लोले भने, ‘उनी सबैका लागि उदाहरण हुन् । उनी चाँडै ३६ वर्ष पुग्दैछन् । तर, युवाकै जस्तो खेलिरहेका छन् ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०८:०२
Loading...