लाम्पार्डको नेतृत्वमा चेल्सीले निकाल्यो पहिलो जित

काठमाडौं, भदौ ७
क्लबका पूर्वखेलाडीसमेत रहेका प्रशिक्षक फ्राङ्क लाम्पार्डले क्लब सम्हालेपछि चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । आज भएको लिगको तेस्रो खेलमा चेल्सीले नर्विच सिटीलाई ३–२ ले हरायो ।

चेल्सी पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० ले हारेको थियो भने दोस्रो खेलमा लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको थियो । यो जितसँगै प्रशिक्षक लाम्पार्डलाई राहत मिलेको छ ।

सिटीको घरमा भएको खेलमा चेल्सीले दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा खेल जित्न ठूलै संघर्ष गर्नुपरेको थियो । निकै रोमाञ्चक खेलमा चेल्सीले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । टमी अब्राहमले आकर्षक गोल गरेका थिए । तर, चेल्सीको अग्रता धेरैबेर टिकेन ।

खेलको ३ मिनेटपछि नै सिटीका लागि कान्टवेलले बराबरी गोल फर्काए । त्यसपछि खेलको १७औं मिनेटमा चेल्सीका लागि माउन्टले गोल गर्दै फेरि टिमलाई १–२ को लिड दिए । त्यो अग्रता पनि धेरैबेर टिकेन । सिटीका लागि ३०औं मिनेटमा पुक्कीले गोल गर्दै खेल २–२ बनाए ।

तर, दोस्रो हाफमा चेल्सीले विजयी गोल हान्यो । ६८औं मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३–२ को लिड दिए । अन्ततः सोही अग्रता जोगाएर चेल्सीले खेल जित्यो । यो जिपछि चेल्सीले तीन खेलबाट ४ अंक जोडेको छ । पराजित सिटीको खातामा ३ अंक छ ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १३:५३
Loading...