क्याम्प नोउ जानुअघि बार्सिलोनालाई सेभिल्लाका कोचको कडा चेतावनी

एजेन्सी, असोज १७
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति बार्सिलोना र सेभिल्लाबीच रोमाञ्चक भिडन्त हुँदैछ । यस खेलका लागि बार्सिलोनाले सेभिल्लालाई आफ्नो घरेलु मैदान क्याम्प नोउ रंगशालामा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

सो खेलअघि सेभिल्लाका प्रशिक्षक जुलेन लोपेटेगुईले बार्सिलोनालाई चेतावनीमूलक सन्देश दिएका छन् । खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै रियल मड्रिडका पूर्वप्रशिक्षकसमेत रहेका लोपेटेगुईले आफूहरू क्याम्प नोउमा जितको लक्ष्य लिएर जाने बताएका छन् । साथै, उनले सेभिल्ला बार्सिलोनालाई उसकै घरमा हराउन उत्सासहित रहेको पनि बताएका छन् ।

‘हामी यो सिजन पहिलोपटक ठूलो खेल खेल्न गइरहेका छौं । हामी तयार छौं । मेरा खेलाडी यो खेलका लागि उत्साहित छन्,’ लोपेटेगुईले भने, ‘यो एक रोमाञ्चक खेल हुनेवाला छ । हामी क्याम्प नोउमा स्पष्ट जितको लक्ष्य लिएर जानेछौं । हामी विश्वकै एक उत्कृष्ट क्लबविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छौं ।’

लोपेटेगुईले सेभिल्ला बार्सिलोनालाई उसकै घरमा हराउन दृढ रहेको पनि बताए । ‘हामी बार्सिलोनालाई उसकै घरमा हराउन चाहन्छौं । मलाई थाहा छ, उनीहरू धेरै नै बलिया प्रतिस्पर्धी हुन् । तर, हामी पनि तयार छौं । उनीहरूविरुद्ध हामीले के गर्नुपर्छ, त्यो हामीलाई थाहा छ,’

लोपेटेगुईले बार्सिलोनासँग अहिले नयाँ प्रशिक्षक र नयाँ ऊर्जा रहेकाले केही फरक हुने बताए । ‘उनीहरूसँग अहिले नयाँ प्रशिक्षक र नयाँ ऊर्जा छ । यो पहिलाकै जस्तो हुनेछैन,’ लोपेटेगुईले भने, ‘उनीहरूले यसअघिका दुई खेलमा कसरी खेले भनेर हामीले हेरेका छौं ।’

बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीलाई कसरी रोक्ने भनेर सोधिएको प्रश्नमा लोपेटेगुईले हाँस्दै जवाफ दिए । गत सिजन पनि उनले मेस्सीको विषयमा यस्तै प्रतिक्रिया दिएका थिए । ‘हामी मेस्सीविरुद्ध मात्रै खेल्नेछैनौं । सेभिल्लाले बार्सिलोनाविरुद्ध खेल्नेछ । यदि हामीले टिमका रूपमा राम्रो खेल्यौं भने मेस्सीलाई हामीले रोकिराख्नु पर्दैन, उनी आफैं रोकिनेछन् । तर, उनी एक खतरनाक खेलाडी हुन्,’ लोपेटेगुईले भने ।

गत सिजनको अन्तिम ला लिगामा खेलमा सेभिल्लाले आफ्नो घरमा बार्सिलोनालाई गोलरहित ०–० मा रोकेको थियो । सो खेलपछि बार्सिलोना र सेभिल्ला आज राति भिड्न लागेका हुन् ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०६:३५
Loading...