आज हुने युभेन्टस–नापोलीको खेल अनिश्चित : यस्तो छ कारण

एजेन्सी, असोज १७
इटालियन सिरी ए लिग फुटबलमा आजका लागि तय भएको युभेन्टस र नापोलीबीचको खेल अनिश्चित बनेको छ । लिगको तेस्रो खेलका रूपमा तय भएको यो खेल युभेन्टसको घरेलु मैदानमा आज राति हुने तालिका छ । तर, इटालीको टुरिन सहरमा कोरोना भारइसको संक्रमण बढेको भन्दै नोपाली क्लब रहेको स्थानीय स्वास्थ्य अधिकारीले खेलाडीलाई टुरिन भ्रमणमा नजान निर्देशन दिएका छन् ।

तर, सिरी ए लिगले भने युभेन्टस–नापोलीको खेल स्थगित नहुने अफिसियल रूपमै जनाएको छ । स्वास्थ्य अधिकारीले भनेजस्तो कोरोनाको जोखिम उच्च नरहेको भन्दै लिगले नापोली खेलमा सामेल हुनुपर्ने बताएको छ ।

यता, युभेन्टसले पनि अफिसियल रूपमा ट्वीट गर्दै आफूहरू निर्धारित तालिकाअनुसारै खेलका लागि तयार रहेको र मैदान उत्रिने स्पष्ट पारेको छ । यदि आजको खेलमा सामेल हुन नापोली टुरिन गएन र युभेन्टस एकपक्षीय रूपमा मैदानमा निस्किए नियमअनुसार स्वतः युभेन्टसलाई विजेता घोषणा गरिनेछ ।

तर, युभेन्टस, सिरी ए लिग, इटालियन फुटबल संघ र टुरिन प्रशासनबीच सहमति बने खेल स्थगित हुन सक्छ । इटालियन मिडियाका पछिल्ला रिपोर्टअनुसर अहिलेसम्म खेल तालिकाअनुसारै हुने भनिएको छ । खेल स्थगित गर्ने विषयमा छलफल नभएको बताइएको छ ।

यता, पछिल्लो समय नापोलीका २ जना खेलाडीसहित केही स्टाफमा कोरोना संक्रमण देखिएको छ । तर, कोरोना संक्रमित खेलाडीको पहिचान खुलाइएको छैन ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०६:०७
Loading...