आज बार्सिलोना र सेभिल्लाको रोमाञ्चक भिडन्त हुँदै : राकिटिक फर्किंदैछन् क्याम्प नोउ

काठमाडौं, असोज १७
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज बार्सिलोना र सेभिल्लाको रोमाञ्चक खेल हुँदैछ । यी दुवै टोलीले नयाँ सिजनको तेस्रो खेल खेल्न लागेका हुन् । खेल बार्सिलोनाको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

लिगका दुई बलिया टोली खेल्ने भएकाले यो खेल धेरैका लागि प्रतीक्षाको खेल बनेको छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेको सेभिल्ला र यो सिजन शानदार सुरुआत गरेको बार्सिलोना दुवै आज एकअर्कालाई हराएर विजयी यात्रा कायमै राख्ने दाउमा छन् ।

यसअघि भएका सुरुआती दुई खेलमा दुवै टोलीले शतप्रतिशत नतिजा निकालेका छन् । जसमा बार्सिलोनाले आफ्नो पहिलो खेलमा भिल्लारियललाई आफ्नो घरमा ४–० ले हराएको थियो भने त्यसपछिको दोस्रो खेलमा सेल्टा भिगोलाई उसकै घरमा ०–३ ले हराएको थियो ।

यता, सेभिल्लाले पनि सिजनको आफ्नो पहिलो खेलमा क्याडिजलाई उसकै घरमा १–३ ले हराएको थियो भने त्यसपछिको दोस्रो खेलमा आफ्नो घरमा लेभान्टेलाई १–० ले हराएको थियो । सेभिल्लाको तुलनामा बार्सिलोनाले सुरुआती दुवै खेलमा फराकिलो जित निकालेको छ ।

आज क्याम्प नोउमा उत्रिँदा बार्सिलोनाका पूर्वखेलाडी इभान राकिटिक पूर्वक्लबविरुद्ध उत्रिनेछन् । उनी केही समयअघि मात्रै बार्सिलोनाबाट सेभिल्लामा अनुबन्ध भएका थिए । राकिटिकका लागि आजको खेल हार–जित मात्रै नभएर भावनात्मक हिसाबले पनि महत्त्वपूर्ण हुनेछ । विगतमा ६ वर्ष बार्सिलोनाबाट खेलेको क्लबविरुद्ध उनले आज सुरुआतबाटै खेल्ने सम्भावना छ ।

आजको खेलमा बासिलोनाको टोलीमा कप्तान लिओनल मेस्सी, युवा स्टार अन्सु फाती, एन्टोनी ग्रजिम्यानसहितका खेलाडी उपलब्ध हुनेछन् । अघिल्लो खेलमा रातो कार्ड पाएका डिफेन्डर क्लेमेट लेङलेट आज उपलब्ध हुनेछैनन् ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०४:४९
Loading...