काभानी म्यानचेस्टर युनाइटेड जाने पक्का

काठमाडौं, असोज १७
फ्रेन्च क्लब पिएसजीका पूर्वफरवार्ड इडिन्सन काभानीलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले भित्र्याउने भएको छ । दुवै पक्षबीच डिल पक्कापक्की भएको खबर इंग्लिस मिडियाले जनाएका छन् । ३३ वर्षका फरवार्ड काभानी हाल फ्रि एजेन्टका रूपमा सरुवा बजारमा उपलब्ध छन् ।

दुई पक्षबीच समझदारी बनेपछि काभानी आइतबार इंग्ल्यान्ड प्रस्थान गर्दैछन् । सरुवा प्रक्रिया तथा मेडिकल जाँचका लागि उनी इंग्ल्यान्ड जान लागेका हुन् । रिपोर्टअनुसार उनले युनाइटेडसँग आगामी दुई सिजनका लागि सम्झौता गर्नेछन् ।

विगतमा लामो समय पिएसजीमा रहेका उनी ब्राजिलियन फरवार्ड नेइमारको अनुबन्धसँगै उनको भविष्य पेरिसमा संकटमा परेको थियो । नेइमार पुगेपछि उनले पहिलो रोजाइमा खेल्न समय नै पाउन छाडेका थिए । यस वर्षको सुरुआतमै उनले पिएसजी छाड्ने घोषणा गरेका थिए । त्यसपछि उनको नाम स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग जोडिए पनि सम्झौता हुन सकेन ।

३३ वर्ष पुगे पनि काभानीले ओल्ड ट्राफोर्डमा उच्च प्रदर्शन गर्नेमा युनाइटेडले विश्वास लिएको छ । गोल मेसिन खेलाडी काभानी पनि आफू युनाइटेडमा सफल हुनेमा विश्वस्त छन् । उनी आफैंले युनाइटेडबाट खेल्ने चाहना व्यक्त गर्दै आएकाले युनाइटेड उनीलाई भित्र्याउन अघि सरेको हो ।

काभानीले हालसम्म क्लब फुटबलमा कूल ५ सय ५६ खेल खेल्दै ३ सय ४१ गोल गरेका छन् । जसमा उनले पिएसजीका लागि ३०१ खेलबाट २०० गोल पूरा गरेका छन् । यता, उरुग्वेको राष्ट्रिय टोलीका लागि उनले ११६ खेलबाट ५० गोल पूरा गरेका छन् ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०२:२०
Loading...