रोड्रिग्वेज चम्किँदा एभर्टनको शानदार जित : लगातार चौथो जित दर्ता

काठमाडौं, असोज १७
कोलम्बियन खेलाडी हामेस रोड्रिग्वेज चम्किँदा इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार चौथो खेलमा प्रभावशाली जित निकालेको छ । आज घरेलु मैदानमा भएको खेलमा एटर्भनले पाहुना टोली ब्राइटनविरुद्ध ४–२ को जित निकाल्न सफल भयो ।

कार्लेस एन्सेलोट्टीको कमान्डमा सुरुआतबाटै उत्कृष्ट प्रदर्शन गरिरहेको एभर्टनले यस सिजन लिगका सुरुआती ४ खेलमा ४ वटै खेल जितेर शतप्रतिशत विजयी यात्रा जारी राखेको छ । आजको जितपछि एभर्टन अंक तालिकाको शीर्ष स्थानमा मजबुत बनेको छ ।

घरेलु मैदानमा एभर्टनलाई जिताउन कोलम्बियन प्ले मेकर राड्रिग्वेज नायक बने । उनले २ गोल गर्नुका साथै १ गोलमा असिस्ट प्रदान गरे । एभर्टनका खेलको १६औं मिनेटमा युवा स्टार डोनिमिक काल्भर्ट लेविनले गोल गर्दै खाता खोलेका थिए ।

तर, पाहुना टोली ब्राइटनका लागि खेलको ४१औं मिनेटमा नलि माउपेले गोल गरेर खेल १–१ बनाए पनि पहिलो हाफको इन्जुरी समयमा कोलम्बियन डिफेन्डर येरी मिनाले रोड्रिग्वेजको पासमा गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ५२औं मिनेटमा रोड्रिग्वेजले गोल गरेर टिमलाई ३–१ को स्थतिमा लैजाँदा ७०औं मिनेटमा रोड्रिग्वेजले नै गोल गरेर खेल ४–१ बनाए । तर, इन्जुरी समयमा ब्राइटनका लागि येभ्स बिसोउमाले गोल गरेपछि एभर्टनको जित ४–२ मा खुम्चियो ।

अब यो जितपछि एभर्टनले लिगका सुरुआती ४ वटै खेल जितेर कूल १२ अंकसहित अंक तालिकाको शीर्ष स्थनानमा छ । एक खेल कम खेलेको लेस्टर सिटी ९ अंकसहित दोस्रोमा छ । पराजित ब्राइटन ४ खेलपछि ३ अंकसहित १४औं स्थानमा छ ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार १५:३८
Loading...