आफ्नै घरमा निराशाजनक बराबरीमा रोकियो एथ्लेटिको

काठमाडौं, असोज १७
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा उपाधि दाबेदार टिम एथ्लेटिको मड्रिड अर्को निराशाजनक बराबरीमा रोकिएको छ । आज भएको लिगको तेस्रो खेलमा पाहुना टोली भिल्लारियलले एथ्लेटिकोलाई उसकै घरेलु मैदानमा गोलरहित ०–० को बराबरीमा रोकिदिएको हो ।

वान्डा मेट्रोपोलिसानो रंगशालामा पहिलो रोजाइका खेलाडी लिएर उत्रिए पनि एथ्लेटिकोले खेलभरि १ गोल पनि गर्न नसक्दा दोस्रोपटक अंक बाँड्न बाध्य भयो । एथ्लेटिको लिगका सुरुआती ३ खेलकै बीचमा दोस्रोपटक बराबरीमा रोकिएको हो ।

भिल्लारियलविरुद्ध एथ्लेटिकोको खेल यति फितलो रह्यो कि, उसले जम्मा एकपटक मात्रै भिल्लारियलको पोस्टमा अन टार्गेट हानेको थियो । तुलनात्मक रूपमा बल बढी आफ्नो पक्षमा राखे पनि घरेलु टोलीले गोलका अवसर नै बनाउन सकेन । उसको तुलनामा भिल्लारियलले बढी गोलका अवसर बनाएको थियो । र, बढी अन टार्गेट पनि हानेको थियो । भिल्लारियल गत साता मात्रै बार्सिलोनासँग ४–० ले हारेको थियो ।

अब यो बराबरीसँगै एथ्लेटिको र भिल्लारियलले १–१ अंक बाँडेका छन् । एथ्लेटिकोको खातामा ३ खेलबाट ५ अंक भएको छ भने भिल्लारियल ५ खेलबाट ८ अंक जोड्दै अक तालिकाको शीर्ष स्थानमा चढेको छ ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार १५:३७
Loading...