डर्टमुन्डको शानदार जितमा हल्यान्ड चम्किए : रेनाको ह्याट्रिक असिस्ट !

काठमाडौं, असोज १७
जर्मन लिग बुन्डेसलिगामा उपाधि दाबेदार टिम बोरुसिया डर्टमुन्डले प्रभावशाली जित निकालेको छ । आज भएको लिगको तेस्रो खेलमा डर्टमुन्डले आफ्नो घरमा पहुना टोली एससी फ्रेइवर्गलाई ४–० ले स्तब्ध बनायो । डर्टमुन्डको एकपक्षीय जितमा युवा स्टार अर्लिङ हल्यान्ड र रेना नायक बने । हल्यान्डले २ गोल गरेर १ असिस्ट गरे भने रेनाले डर्टमुन्डका ३ वटा गोलमा असिस्ट प्रदान गरे । १७ वर्षीय अमेरिकन युवा खेलाडी रेनाले यस खेलमा उच्च प्रदर्शन गरे ।

डर्टमुन्डका लागि खेलको ३१औं मिनेटमा हल्यान्डले पहिलो गोल गरेका थिए । उनले रेनाको पासमा उत्तिकै उत्कृष्ट गोल गरेका थिए । त्यसपछि डर्टमुन्डले बाँकी ३ गोल दोस्रो हाफमा हान्यो ।

दोस्रो हाफ सुरु भएको २ मिनेटमै इम्री च्यानले टिमका लागि दोस्रो गोल गरे भने ६६औं मिनेटमा हल्यान्डले व्यक्तिगत दोस्रो गोल गरे । यी ३ वटै गोलमा रेनाले असिस्ट प्रदान गरेका थिए । त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा फेलिक्स पासाल्याकले हल्यान्डको पासमा गोल गरेपछि खेल डर्टमुन्डले ४–० ले जित्यो ।

अब यो जितपछि डर्टमुन्डले लिगका सुरुआती ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । ऊ समान ३ खेल नै खेलेको फ्रान्कफुर्टभन्दा १ अंकले पछि छ । पराजित फ्रेइवर्ग ४ अंकसहित ११औं स्थानमा छ ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार १५:१८
Loading...