चेल्सीका खेलाडीले पेनाल्टी हान्न ‘बल खोसाखोस’ गरेपछि ……

काठमाडौं, असोज १७
फुटबल खेल दौरान पेनाल्टी प्रहार गर्ने विषयमा कहिलेकाहीं खेलाडीबीच विवाद र टकराव हुने गर्छ । सामान्यतः पेनाल्टी कसले हान्ने भनेर टोलीमा निश्चित खेलाडीलाई तोकिएको हुन्छ । प्रायः ठूला नाम र स्टार खेलाडी भएको टोलीमा उनीहरूले पहिलो रोजाइमा पेनाल्टी हान्छन् । ती खेलाडी नहुँदा वरीयताका आधारमा अन्य खेलाडीले पेनाल्टी प्रहार गर्छन् । कतिपय टिममा भने कप्तानले नै पहिलो रोजाइमा पेनाल्टी हान्छन् ।

पेनाल्टीको मामिलामा कहिलेकाहीं पहिलो रोजाइका र सिनियर खेलाडीले अन्य खेलाडीलाई पेनाल्टी हान्न छाडिदिन्छन्, माया र सद्भावले । यस्ता दृश्य कहिलेकाहीं मैदानमा देख्न पाइन्छ । अनि, कहिलेकाहीं यस्ता पनि दृश्य देख्न पाइन्छ, जहाँ पेनाल्टी हान्न खेलाडीहरू तँछाडमछाड गर्छन् । कसले पेनाल्टी हान्ने भनेर मैदानमै खुलेआम विवादमा उत्रिन्छन् । यस्ता दृश्य निकै फरक लाग्छन् ।

यस्तै दृश्य आज इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र क्रिस्टल प्यालेसको खेल दौरान देखियो । लिगको चौथो खेलमा चेल्सीले क्रिस्टल प्यालेससँग आफ्नो घरमा खेल्यो । उसले खेल ४–० ले जित्यो । चेल्सीले ४ वटै गोल दोस्रो हाफमा हान्यो, जसमा २ गोल पेनाल्टीमार्फत भए ।

तर, सो खेल दौरान पेनाल्टी कसले हान्ने भन्ने विषयमा दुई खेलाडीबीच मैदानमा वादविवाद मात्रै भएन, बल नै खोसाखोस भयो । जर्जिन्हो र युवा फरवार्ड टमी अब्राहमबीच दोस्रो पेनाल्टी कसले हान्ने भन्नेमा तनाव भयो ।

चेल्सीले ७८औं मिनेटमा पहिलो पेनाल्टी पायो, जसमा टोलीका नियमित (पहिलो रोजाइ) पेनाल्टी टेकर जर्जिन्होले बिनाविवाद पेनाल्टी प्रहार गेरर गोल गरे । उनको गोलपछि चेल्सी ३–० मा पुग्यो । तर, त्यसको ४ मिनेटमै चेल्सीले दोस्रो पेनाल्टी पायो, सो पेनाल्टी हान्ने बेलामा जर्जिन्हो र अब्राहम बल खोसाखोसमा उत्रिए ।

जर्जिन्होले ४ मिनेटअघि मात्रै पहिलो पेनाल्टी हानेकाले अब्राहम दोस्रो पेनाल्टी आफू हान्न चाहन्थें । तर, बल जर्जिन्होको हातमा थियो । पहिला उनले पेनाल्टी आफूले हान्छु भन्दै अनुरोध गरे । जर्जिन्हो उनलाई पेनाल्टीका लागि बल दिन तयार भएनन् । त्यसपछि अब्राहमले जर्जिन्होको हातबाट बोल खोस्न प्रयास गरे ।

तर, जर्जिन्होले बल छाडेनन् । र, अब्राहमलाई हातले पन्छाउँदै आफैं पेनाल्टी हान्न अघि बढे । उनले अब्राहमलाई केही भनेर पन्छाए भने अब्राहम स्पष्ट रूपमा जर्जिन्होप्रति आक्रोश पोख्दै पेनाल्टी बक्सबाट पन्छिए । अब्राहमको अनुहारमा पेनाल्टी हान्न नपाउँदाको आक्रोश स्पष्टै देखिन्थ्यो ।

अब्राहमको चाहना नराम्रो थिएन । किनभने, जर्जिन्होले केही समयअघि मात्रै पेनाल्टीबाटै गोल गरेकाले दोस्रो पेनाल्टी आफूलाई उनले अनुरोध गरेका थिए । टोलीका एक स्टार युवा खेलाडी भएकाले उनी गोल गर्न चाहन्थे । अब्राहमलाई लाग्यो होला– जर्जिन्होले पहिलो पेनाल्टी गोल गरिसकेकाले यसपटक मलाई मौका दिन्छन् ।

तर, जर्जिन्होले अब्राहमको अनुरोध मानेनन् । जर्जिन्होले सुरुमा नकारेपछि अब्राहमले हातै हालेर बल खोस्न खोजे । त्यत्ति गर्दा पनि जर्जिन्होेले बल नदिएपछि अब्राहमले थप जोडबल गरेनन् । तब जर्जिन्होले नै पेनाल्टी हान्दै गोल गरे ।

जर्जिन्हो युरोपियन लिगमा बेस्ट पेनाल्टी टेकर मानिन्छन् । उनले हानेका पछिल्ला १९ पेनाल्टीमा मात्रै १ पेनाल्टी मिस गर्दा १८ पेनाल्टीमा गोल गरेका छन् । तर, आजको खेलमा उनले जुनियर खेलाडीसँग देखाएको व्यवहारलाई लिएर फ्यानहरूले उनको आलोचना गरिरहेका छन् । फ्यानहरूले अब्राहमले पेनाल्टीका लागि अनुरोध गर्नुलाई भन्दा जर्जिन्होको उनीप्रति गरेको व्यवहार खराब रहेको बताएका छन् ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार १३:५४
Loading...