प्रिमियर लिग : घरेलु मैदानमा चेल्सीको शानदार जित

काठमाडौं, असोज १७
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा चेल्सीले आफ्नो घरेलु मैदानमा पाहुना टोली क्रिस्टल प्यालेसमाथि ४–० को एकपक्षीय जित निकालेको हो । चेल्सीलाई घरमा जिताउन नयाँ खेलाडी बेन चिलवेलले पहिलो गोल गरे भने जर्जिन्होले २ गोल पेनाल्टीमार्फत् गरे ।

पहिलो हाफमा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । तर, दोस्रो हाफमा चेल्सीले ४ गोल हान्यो । ५०औं मिनेटमा चिलवेलले चेल्सीको जर्सीमा पहिलो गोल गर्दा ६६औं मिनेटमा कुर्ट जोउमाले दोस्रो गोल गरे ।

त्यसपछि चेल्सीले दुई पेनाल्टी पायो । ७८औं मिनेटमा पाएको पेनाल्टीमा कप्तान जर्जिन्होले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पुराए भने त्यसको ४ मिनेटमै चेल्सीले दोस्रो पेनाल्टी पायो, जसमा जर्जिन्होले नै गोल गर्दै ४–० को जित पक्का गरे ।

अब यो जितसँगै चेल्सीले सुरुआतका ४ खेलमध्ये २ खेल जित्दै १ खेलमा बराबरी र १ खेलमा हारसहित ७ अंक बनाएर चौथो स्थानमा छ । पाजित प्यालेस ६ अंकसहित आठौं स्थानमा छ । आज राति अन्य टोलीले आफ्नो खेलेपछि यो अंक तालिका फेरबदल हुन सक्नेछ ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार १३:४७
Loading...