मेस्सीको प्रदर्शनबाट कोम्यान मक्ख : यसरी गरे तारिफ

एजेन्सी, असोज १७
स्पेनिस बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्ना कप्तान लिओनल मेस्सीको मुक्तकण्ठले तारिफ गरेका छन् । २ दिनअघि ला लिगामा सेल्टा भिगोविरुद्ध ०–३ को जितपछि डच म्यानेजर कप्तानको खुलेर तारिफ गर्न पछि परेनन् । सेल्टालाई बार्सिलोनाले ५ वर्षपछि बल्ल उसकै घरमा हराएको थियो ।

बार्सिलोनाका डिफेन्डर क्लेमेट लेङलेटले सो खेलमा पहिलो हाफमै रातो कार्ड पाएपछि बार्सिलोनाले दोस्रो हाफमा १० खेलाडीमा सीमित भएर खेलेको थियो । तर, बार्सिलोनाले कम खेलाडीका बाबजुद पनि ०–३ को प्रभावशाली जित निकाल्यो ।

बार्सिलोनालाई जिताउन अन्सु फाती र सर्जी रोवेर्टोले १–१ गोल गरे भने १ गोल उपहारमा पाएको थियो । सेल्टाको सो आत्मघाती गोलमा मेस्सीको योगदान थियो । मेस्सीको प्रहार सेल्टाका खेलाडीलाई लाग्दै छिरेको थियो । सो खेलमा मेस्सीको १ गोललाई रेफ्रीले मान्यता नदिँदा मेस्सी गोलविहीन बनेका थिए ।

तर, सो खेलको मेस्सीको प्रदर्शनबाट प्रशिक्षक कोम्यान मक्ख छन् । मेस्सीले गोल नगरे पनि टिमलाई जिताउन र १० खेलाडीमा सीमित भएका टिमलाई बेला सम्हाल्न ठूलो योगदान दिएको कोम्यानले बताएका छन् । ‘एक खेलाडी कम हुँदा पनि हामीले सेल्टाविरुद्ध अनुशासित खेल खेल्यौं । हामीले साँच्चै ठीकठाक आफ्नो काम पूर गेर छाड्यौं । यो नतिजाले हामी सही बाटोमा छौं भन्ने देखाउँछ,’ कोम्यानले भनेका छन्, ‘सेल्टाविरुद्ध लियो र फातीले धेरै राम्रो गरे । फातीबाट म ज्यादै खुसी छु । यी दुईजनाकै कारण हामी सेल्टाको घरमा जितको हकदार बन्यौं ।’

बार्सिलोना १० खेलाडीमा झरेपछि दोस्रो हाफमा टिमलाई सम्हाल्न मेस्सीले ज्यादै ठूलो भूमिका खेलेको कोम्यानले बताए । ‘मेस्सीका नाममा गोल भएन । तर, उनले त्यहाँ धेरे नै मेहनत गरे । जब हामी १० खेलाडीमा आयौं, मेस्सी अझै धेरै दौडे र टिमलाई सम्हाल्न भूमिका खेले,’ कोम्यानले थपे, ‘यो जितमा मेस्सीको जति योगदान छ, फाती र अन्य युवा खेलाडीको पनि उत्तिकै योगदान छ । मेस्सी टिमका लागि कति महत्त्वपूर्ण छन् भन्ने कुरा यो खेलमा पनि साबित भयो ।’

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०७:४१
Loading...