च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेललाई लिएर यसो भन्छन् अर्थुर

एजेन्सी, असोज १७
नयाँ सिजन २०२०–२१ अन्तर्गत युरोपियन च्याम्पियन्स लिग फुटलबको समूह चरणको ड्र सार्वजनिक हुँदा युरोपका दुई ठूला क्लब स्पेनिस बार्सिलोना र इटालियन युभेन्टस भिड्ने पक्का भएको छ । क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सीको टिम एकअर्काविरुद्ध भिड्ने भएकाले यस खेललाई समूह चरणकै सबैभन्दा ठूलो र आकर्षक खेलका रूपमा हेरिएको छ । यी दुई टोली समूह ‘जी’मा छन् ।

बार्सिलोनासँगको खेललाई लिएर युभेन्टसका ब्राजिलियन मिडफिल्डर अर्थुर मेलोलो आफ्नो धारणा राखेका छन् । अर्थुर केही समयअघि मात्रै बार्सिलोनाबाट युभेन्टसमा अनुबन्ध भएका थिए । आफ्नो चाहनाबिपरीत अर्थुरलाई बार्सिलोनाले युभेन्टसमा एकपक्षीय रूपमा बेचेको थियो । अर्थुरले युभेन्टसमा खेल्न थालिसकेका छन् ।

बार्सिलोना छाडेर युभेन्टस आएकै सिजन च्याम्पियन्स लिगमा पूर्वक्लबविरुद्ध खेल्नुपर्ने भएपछि अर्थुरले सो खेलको विषयमा आफ्नो धारणा राखेका छन् । इटालियन मिडियासँग कुरा गर्दै अर्थुरले बार्सिलोनासँग यति चाँडै खेल्नुपर्ला भनेर आफूले नसोचेको बताएका छन् । ‘म यहाँ आएको एक महिना पनि भएको छैन । तर, यति चाँडै मैले बार्सिलोनाविरुद्ध खेल्नुपर्ला भनेर मैले सोचेकै थिइनँ,’ अर्थुरले भनेका छन्, ‘मेरा लागि यो ड्र नसोचेको र केही फरक छ ।’

अर्थुरले आफू युभेन्टसको खेलाडी भएकाले आफ्नो टिमलाई जिताउन पूर्वक्लबविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने पनि बताएका छन् । ‘म अब युभेन्टसको खेलाडी हुँ । अब मैले जे जति गर्छु, यसै क्लबका लागि गर्छु । तसर्थ च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध खेल्दा म उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ अर्थुरले भने ।

अर्थुरले बार्सिलोनाविरुद्ध खेल्दा आफू बार्सिलोनालाई हराउन नभई युभेन्टसलाई जिताउन खेल्ने बताए । ‘बार्सिलोनाप्रति मेरो ठूलो सम्मान र प्रेम छ । च्याम्पियन्स लिगमा खेल्दा म बार्सिलोनालाई हराउन खेल्नेछैन, आफ्नो टिमलाई जिताउन खेल्नेछु,’ अर्थुरले भावनात्मक विचार राखे ।

अर्थुरले आफूहरूको समूहबाट युभेन्टस र बार्सिलोना अघि बढ्ने पनि बताए । ‘खेलमा जे पनि हुन सक्छ । तर, यस समूहबाट युभेन्टस र बार्सिलोना अर्को चरण जानेमा म ढुक्क छु,’ अर्थुरले भने ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०६:११
Loading...