डेम्बेले युनाइटेड जाने विषयमा बोल्यो बार्सिलोना

एजेन्सी, असोज १७
स्पेनिस क्लब बार्सिलोनाका विंगर उसामान डेम्बेले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने चर्चा बढेपछि क्लब बार्सिलोना त्यस विषयमा बालेको छ । क्लबका खेल निर्देशक रोमन प्लानेजले डेम्बेले युनाइटेड जाने विषयमा कुनै छलफल नभएको र आफूहरूसँग औपचारिक प्रस्ताव पनि नआएको स्पष्ट पारेका छन् ।

पछिल्लो समय युनाइटेडले फ्रान्सका युवा विंगर डेम्बेले भित्र्याउन बार्सिलोनासँग प्रस्ताव पठाएको र छलफल जारी रहेको खबर अन्तर्राष्ट्रिय मिडियाले महत्त्वसाथ छापेका थिए । बार्सिलोनामा अनुबन्ध भएदेखि नै पटक–पटक गम्भीर चोट बोक्दै आएका डेम्बेलेलाई बार्सिलोनाले आकर्षक मूल्यमा बेच्न सक्ने चर्चा छ ।

तर, बार्सिलोनाका खेल निर्देशक प्लानेजले त्यसलाई नकारेका छन् । ‘डेम्बेलेको विषयमा म्यानचेस्टर युनाइटेडसँग कुनै छफल चलिरहेको छैन,’ प्लानेजले भने, ‘उनी हामीले योजनामा राखेका खेलाडी हुन् । उनी अहिले यहाँ आएदेखिकै सबैभन्दा उच्च मनोबलमा देखिएका छन् ।’

स्पेनमा समर विन्डो सिजन २ दिनपछि अर्थात् अक्टोबर ५ बाट औपचारिक रूपमा बन्द हुँदैछ । यदि बार्सिलोनाबाट डेम्बेले अनुबन्ध गर्नुपरे इच्छुक क्लबले त्यसअघि नै प्रस्ताव गरेर डिल पक्का गरिसक्नुपर्नेछ । बार्सिलोनाले डेम्बेलेलाई सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०५ मिलियन युरोमा भित्र्याएको थियो ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०५:४२
Loading...