पिएसजीद्वारा आधा दर्जन गोलको वर्षा : नेइमारको २ गोल

काठमाडौं, असोज १७
फ्रेन्च लिग वान फुटबलमा सुरुआतका २ खेल हारेर खराब सुरुआत गरेको पिएसजीले लिगको छैटौं खेलमा फराकिलो जित निकालेको छ । गत राति भएको खेलमा उसले आफ्नो घरेलु मैदानमा एन्जर्समाथि ६–१ अन्तरको फराकिलो जित निकाल्यो । पिएसजीले चौथो जित निकालेको हो ।

आफ्नो घरमा पिएसजीलाई जिताउनेक्रममा खेलको सातौं मिनेटमा एलेस्सान्ड्रो फ्लारेन्जीले पहिलो गोल गर्दा नेइमारले खेलको ३६औं मिनेटमा गोल गरेका थिए । बाँँकी गोल दोस्रो हाफमा भए ।

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै नेइमारले व्यक्तिगत दोस्रो गोल गरे । तर, खेलको ५२औं मिनेटमा एन्जर्सका लागि इस्माएल ट्राओरेले गोल गर्दै खेललाई ३–१ मा छोट्याए । त्यपछि पिएसजी झन् हाबी भयो । खेलको ५७औं मिनेटमा जुलियन ड्राक्सलेरले गोल गर्दा ७१औं मिनेटमा इड्रिसा गुईले गोल गरेर अग्रता बढाए । त्यसपछि खेलको ८४औं मिनेटमा केलिएन एमबाप्पेले गोल गरेर पिएसजीको ६–१ को जित पक्का गरे ।

अब यो जितपछि पिएसजीले ६ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा चढेको छ । ऊ ५ खेल खेलेर १३ अंकसहित शीर्ष स्थानमा रहेको रेनेजभन्दा अझै १ अंकले पछि छ । पराजित एन्जर्स ९ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०२:३०
Loading...