बुन्डेसलिगामा आज बार्यन र शाल्केको भिडन्त : कोउटिन्होले डेब्यु गर्दै !

एजेन्सी, भदौ ७
जर्मन लिग बुन्डेसलिगामा आज साबिक विजेता बार्यन म्युनिखले आफ्नो दोस्रो खेल खेल्दैछ । सिजनको दोस्रो खेल खेल्न बार्यन शाल्केको घरेलु मैदानमा उत्रिँदैछ ।

यसअघि सिजनको पहिलो खेलमा बार्यन हर्थासँग अप्रत्यासित रूपमा २–२ को बराबरीमा रोकिएको थियो । आज दोस्रो खेल खेल्दा बार्यन स्पष्ट जितको खोजीमा हुनेछ ।

आफ्नो घरमा भएको सिजनको पहिलो खेलमा अंक बाँड्न बाध्य भएको बार्यन आज दोस्रो खेलमा ३ अंक जोड्न प्रयास गर्नेछ । खेल नेपाली समयअनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ ।

आज अवे मैदानमा उत्रिँदा बार्यनका केही नयाँ खेलाडीले डेब्यु गर्नेछन् । जसमा हालै स्पेनिस बार्सिलोनाबाट लोनमा बार्यन पुगेका ब्राजिलियन फिलिपे कोउटिन्हो, इटालियन इन्टर मिलानबाट बार्यन पुगेका क्रोएसियन इभान पेरिसिच र फ्रेन्च खेलाडी मिकेल क्वीसन्सले पनि डेब्यु गर्ने सम्भावना छ । ३ जनै खेलाडीले आजै डेब्यु नगरे पनि कोउटिन्हो र पेरिसिचको डेब्यु पक्का छ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै बार्यनका प्रशिक्षक निको कोभाकले अन्तिम समयमा फरक अवस्था नआए शाल्केविरुद्ध पेरिसिच र कोउटिन्होले सुरुआती टिमबाटै डेब्यु गर्न सक्ने बताएका छन् ।

बार्यनमा कोउटिन्होको डेब्यु खेललाई निकै महत्त्वसाथ हेरिएको छ । प्रशिक्षक कोभाकले पनि उनको उच्च तारिफ गरेका छन् । ‘कोउटिन्हो विश्वस्तका खेलाडी हुन् । उनलाई मैदान उतार्न हामी आतुर छौं,’ पत्रकार सम्मेलनमा उनले भने ।

उनले अघि थपे, ‘शाल्केविरुद्ध नयाँ खेलाडीले डेब्यु गर्नेछन् । कसले कतिबेला त्यो निर्णय गर्न बाँकी छ ।’

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार ०९:४५
Loading...