रियल मड्रिड च्याम्पियन्स लिग जित्ने अवस्थामा छैन’

एजेन्सी, असोज १६
‘युरोपियन च्याम्पियन्स लिगको राजा’ भनेर चिनिने स्पेनिस रियल मड्रिडले यो प्रतियोगिता सबैभन्दा धेरै १३ पटक जितेको छ, जुन कीर्तिमानी हो । ऊ धेरैपटक यो उपाधि जित्ने टिम मात्रै नभएर, दुई–दुईपटक ह्याट्रिक गर्ने एक्लो टोली पनि हो । उसले पछिल्लोपटक सन् २०१६–१८ सम्म लगातार ती सिजन च्याम्पियन्स लिग जितेर सनसनी मच्चाएको थियो । तर, त्यसयता रियल दुवै सिजन अन्तिम १६ बाटै आउट भयो ।

यसपटक सिजन २०२०–२१ अन्तर्गत समूह चरणको ड्र अघिल्लो दिन मात्रै सार्वजनिक भएको छ । ड्र सार्वजनिक भएपछि रियलका पूर्वअध्यक्ष जोर्गे भाल्डानोले रियल मड्रिड यसपटक पनि उपाधि जित्ने दाबेदार टोली नरहेको बताएका छन् । सन् १९९४ देखि १९९६ समम रियलको प्रशिक्षक रहेका अर्जेन्टिनी म्यानेजरले रियल अहिले संक्रमणकालीन स्थितिमा रहेकाले टिमले ठूला उपाधि जित्ने सम्भवना नरहेको बताए ।

यस सिजन रियल समूह चरणमा समूह ‘बी’मा परेको छ । रियलले आफ्नो समूहमा इटालियन क्लब इन्टर मिलान, युक्रेनको क्लब शाख्तर डोनेट्स्क र जर्मन क्लब मोन्चेङ्लाडवाक परेका छन् । यस समूहमा रियल र मिलानलाई सबैभन्दा बलिया टोली मानिए पनि अन्य टोली पनि उति कमजोर टोली भने होइनन् ।

पूर्वप्रशिक्षक भाल्डानोले क्रिस्टियानो रोनाल्डोको बहिर्गमनपछि रियल च्याम्पियन्स लिग जित्न उस्तै दाबेदार रहिरहन नसकेको बताए । ‘क्रिस्टियानो रोनाल्डो गएपछि मड्रिड च्याम्पियन्स लिग जित्न समक्ष टोलीका रूपमा रहेन । यसपटक पनि उनीहरू उपाधिका लागि दाबेदार होइनन् । किनभने, अहिले उनीहरू संक्रमणकालीन अवस्थामा छन् । त्यसैले यो धेरै कठिन छ,’ भाल्डानोले भने ।

भाल्डाननोले अघि थपेका छन्, ‘उनीहरू अहिले टिमलाई नयाँ ढंगले पुनर्निर्माण गर्नेक्रममा छन्, नयाँ पुस्ताको टोली तयार पारिरहेका छन् । उनीहरूले मजबुत टोली तयार पार्न अहिले युवा खेलाडीलाई जिम्मेवारी दिइरहेका छन् । च्याम्पियन्स लिगमा युवा र कम अनुभव भएका खेलाडीको मात्रै उपस्थिति काफी हुँदैन । तर, यो भविष्यका लागि धेरै राम्रो कुरा हो । मलाई लागछ, मड्रिडले दुई सिजनपछि बाट च्याम्पियन्स लिगको रौनक फर्काउन सक्षम हुनेछ ।’

भाल्डानोले रियललाई यसपटक समूह चरणबाट अघि बढ्नै कठिन रहेको पनि बताए । ‘मड्रिड अहिले सहज समूहमा छैन । हेर्दा त्यहाँ ऊ सबैभन्दा बलियो टोली देखिन्छ । तर, उसको समूहमा भएका सबै टिमले उसलाई कठिन पार्न सक्छन् । किनभने, च्याम्पियन्स लिगमा आएका नयाँ टोली धेरै राम्रो स्तरका छन्,’ उनले थपे ।

भाल्डानोले रियलको खास प्रतिस्पर्धी बार्सिलोना पनि च्याम्पियन्स लिग जित्ने अवस्थामा नरहेको बताए । ‘बार्सिलोनासँग अझै पनि मेस्सीजस्ता खेलाडी छन् । तर, च्याम्पियन्स लिग जित्न यति नै पर्याप्त छैन । उनीहरूलाई त ला लिगा जित्नै कठिन देख्छु,’ भाल्डानोले भने, ‘ला लिगाको उपाधि होडमा यसपटक मैले एथ्लेटिको मड्रिडलाई प्रमुख दाबेदार मानेको छु ।’

प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार १४:०४
Loading...