च्याम्पियन्स लिगको समूह चरणमै युभेन्टस प्रतिस्पर्धी पाएपछि कोम्यानको यस्तो प्रतिक्रिया

एजेन्सी, असोज १६
युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको ड्र घोषणा हुँदा पाँचपटकको विजेता स्पेनिस बार्सिलोनाले दुईपटकको विजेता इटालियन युभेन्टसलाई समूह चरणमै प्रतिस्पर्धी पायो । गत राति जेनेभामा भएको ड्र अनुसार बार्सिलोना र युभेन्टस समूह ‘जी’ मा छन् । सो समूहमा ठूला टोली भनेका बार्सिलोना र युभेन्टस हुन् ।

समूह चरणमै आफूहरूले बलियो टोली प्रतिस्पर्धी पाएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले युभेन्टससँगको खेलबारे धारणा राखेका छन् । गत राति ला लिगाअन्तर्गत अवे मैदानमा सेल्टा भिगोलाई उसकै घरमा ०–३ ले हराएपछि मिडियासँग कुरा गर्दै कोम्यानले युभेन्टससँगको ड्र रोचक हुने बताए ।

‘यो ड्रलाई लिएर हामी सन्तुष्ट छौं । हामीलाई थाहा थियो कि, हामीसँग कुनै एक बलियो टोली पर्नेछ,’ कोम्यानले थपे, ‘यस समूहमा बार्सिलोना र युभेन्टस उत्कृष्ट टिम हुन् । युभेन्टसविरुद्ध खेल्नु रोचक हुनेछ ।’

अन्य टोलीहरूले समूह चरणमा क्रिस्टियानो रानाल्डोको युभेन्टस र लिओनल मेस्सीको बार्सिलोनाविरुद्ध खेल्न पाउँदा खुसी हुने बताए । ‘मेरो विचारमा यस समूहका अन्य टोली बार्सिलोना र युभेन्टससँग खेल्न पाउँदा खुसी हुनेछन् । तर, हामीलाई कुनै छुट छैन । बार्सिलोना र युभेन्टस अर्को चरणका लागि छनौट हुनैपर्छ । राम्रा टोली अघि बढ्नुपर्छ,’ कोम्यानले भने ।

प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार १०:४७
Loading...