मेस्सीको ताजा अन्तर्वार्ता : क्लब र समर्थकहरूलाई दिए ६ शानदार जवाफ

एजेन्सी, असोज १६
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले केही समयअघि क्लबसँग देखिएको विवाद र टकरावबारे आफ्नो भनाइ राखेका छन् । गत सिजन सकिएपछि मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरेका थिए । तर, क्लबले मेस्सीले चाहेजसरी फ्रि ट्रान्सफरमा जान नदिएपछि मेस्सीले अन्तिम समयमा निर्णय फिर्ता लिएर बार्सिलोनामै रहने फैसला गरेका थिए ।

मेस्सीले क्लब छाड्ने निर्णय गरेदेखि र निर्णय फिर्ता लिएपछि पनि क्लबसँग मेस्सीको सम्बन्ध ठीकठाक देखिएको छैन । मेस्सी बार्सिलोनाको टोलीमा नयाँ सिजनमा प्रवेश गरिसकेका छन् । तर, क्लबका अध्यक्ष र बोर्डसँग उनको समझादारी पहिलाजस्तो छैन । त्यत्ति मात्रै हैन, नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग पनि मेस्सीको सम्बन्ध राम्रो बन्न नसकेको चर्चा छ ।

बार्सिलोनाले सिजनको पहिलो खेलमा भिल्लारियललाई आफ्नो घरमा ४–० र सेल्टा भिगोलाई उसकै घरमा ०–३ ले हराएर ला लिगामा शानदार सुरुआत गरिसकेको छ । नयाँ सिजनको सुखद् सुरुआत गरिसकेको अवस्थामा मेस्सीले स्पेनको चर्चित पत्रिका ‘स्पोर्ट’सँग कुरा गर्दै विभिन्न विषयमा आफ्नो धारणा राखेका छन् । क्लब छाड्ने निर्णयदेखि बार्सिलोनामा आफ्नो भविष्यबारे मेस्सीले बोलेका छन् । त्यसैगरी, उनले पूर्वसहकर्मी लुइस स्वारेजलाई निकाल्ने क्लबको निर्णयदेखि नयाँ सिजनबारे पनि आफ्नो भनाइ रोखका छन् । उनले राखेका केही प्रमुख भनाइ यस्ता छन्–

हामीबीच केही समयअघिबाटै असमझदारीहरू थिए । यी खास गरी बोर्डसँग सम्बन्धित थिए । बोर्डको खेल योजना र केही निर्णयबाट म खुसी थिइनँ । ती निर्णयले टिमलाई राम्रो बनाउनेभन्दा पनि कमजोर बनाउने हाम्रो निचोड थियो । बिस्तारै असमभदारी बढ्न थालेपछि मैले यहाँको बसाइ अन्त्य गर्न चाहेको थिएँ । मैले धेरै सोचविचार गरेरै बाहिरिने निर्णय गरेको थिएँ । तर, अध्यक्षले समझादारीअनुसार मलाई जान दिएनन् । मुद्दा लडेर म जान सक्थें । तर, मैले जीवनमा सबथोक पाएको क्लब, मेरो जीवन बनाएको क्लबविरुद्ध कसरी मुद्दा लड्न सक्छु ! यसकारण म पछि हटें ।

क्लब छाड्ने निर्णय गरेर फेरि यहीं रहँदा धेरै मानिसले क्लबप्रति मेरो दृष्टिकोण, जिम्मेवारी र सोचाइलाई लिएर प्रश्न गरिरहेका छन् । विभिन्न धारण बनाइरहेका छन् । त्यो गलत हो । म हिजो क्लब छाड्न चाहन्थें । आज यहीं छु । यसको अर्थ म खेल्न र मेहनत गर्न छाड्छु भन्ने होइन । क्लब र टिमप्रति मेरो दृष्टिकोण, जिम्मेवारी र उत्तरदायित्व त्यस्तै हुन्छ, पहिला जस्तो थियो । म यहाँ जति रहन्छु, सधैं टिमप्रति बफादार छु । टिमका लागि खेल्न र जिताउन म विगत वर्षहरूझैं समर्पित छु ।

बार्सिलोनाप्रति म जीवनमा कहिल्यै नकारात्मक बन्न सक्दिनँ । मेरो जीवनमा मैले यस क्लबका लागि दिन केही बाँकी राखेको छैन । सधैं बेस्ट दिन प्रयास गरेको छु । यसमा कहिल्यै पनि कमी आएन । र, आउने पनि छैन । पछिल्लो स्थितिमा क्लबले अहिले मप्रति कस्तो धारणा राखेको छ, मलाई थाहा छैन । तर, अनेक उत्तारचढाव भुलेर टिमलाई नयाँ ढंगले अघि बढाउन म तयार छु । हामीले सिजन थालिसकेका छौं । हामी सबैले नयाँ सोच र योजनाका साथ काम गर्नुपर्छ । हिजोका दिनहरूमा मेरा तर्फबाट यदि कहींकतै गल्तीहरू भएको भए म क्षमा माग्न चाहन्छु । मेरो गल्ती र कमजोरीप्रति म सधैं उत्तरदायी छु ।

अस्तिको सिजनमा के भयो सबैलाई थाहा छ । त्यो हाम्रा लागि धेरै नै पीडादायी थियो । तर, नयाँ सिजनमा हामीले सकेसम्म राम्रो गर्न सबै ढंगले प्रयास गर्नुपर्छ । खेलाडी, प्रशिक्षकदेखि लिएर बोर्डले समेत सहयोग गर्नुपर्छ । समर्थकहरूको साथ हाम्रा लागि सबैभन्दा ठूलो ऊर्जा हो । अहिले विश्व कठिन परिस्थतिसँग जुधिरहेको छ । फुटबल अहिले खासमा फुटबलजस्तो छैन । तर, यस्तो अवस्थामा पनि हाम्रा फ्यानहरूसँग म अनुराध गर्न चाहन्छु कि, हामीलाई सपोर्ट गर्न नछाड्नुहोस् । हामी एकपठट उठ्न र अघि बढ्न चाहन्छौं । हामीलाई समर्थक सधैं चाहिन्छ ।

लामो समयसम्म क्लबमा रहेर काम गरेपछि, सफलताहरूमा योगदान दिएपछि कुनै पनि खेलाडीले यहाँबाट जाँदा सम्मानजनक बिदाइको आशा राखेकै हुन्छ । हरेक खेलाडी यसको हकदार पनि हुन्छन् । तर, स्वारेजलाई जसरी निकालियो, त्यो राम्रो व्यवहार थिएन । त्यसले मलाई निकै दुखायो । ६ वर्ष यहाँ रहँदा उनले जति योगदान गरे, उनी यस्तो बिदाइको हकदार थिएनन् । उनीसँग मेरो सुमधुर सम्बन्ध थियो, यसकारण म मात्रै यसो भनिरहेको छैन ।

कोम्यान (नयाँ प्रशिक्षक) प्रति मेरो खास व्यक्तिगत धारणा छैन । उनीप्रति मेरो सम्मान छ । किनभने, उनी टोलीका प्रशिक्षक मात्रै नभएर क्लबका लिजेन्ड खेलाडी पनि हुन् । उनी यहाँ आएपछि हामीबीच धेरै कुरा भएको छैन । कुरा गर्न, टिम र योजनाबारे छलफल गर्न समय छ । भर्खर हामीले सिजन सुरु गरेका छौं अझ लामो यात्रा बाँकी नै छ । उनले आफ्ना तर्फबाट राम्रो गरिरहेका छन् भन्ने मलाई लागेको छ । नयाँ प्रशिक्षकको शैलीसँग काम गर्न र उनको दर्शन बुझ्न खेलाडीलाई समय लाग्छ । हामीले जति धेरै काम गर्दै जान्छौं, त्यत्ति नै एकअर्कालाई बुझ्दै जान्छौं । मलाई आशा छ, कोम्यानको नेतृत्वमा हामीले राम्रो गर्नेछौं ।

प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार ०६:३०
Loading...