‘युइएफए प्लेयर अफ् द इयर’ अवार्ड जितेपछि लेवान्डोस्कीले के भने ?

काठमाडौं, असोज १६
जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले वर्ष २०२० को ‘युइएफए बेस्ट प्लेयर अफ् द इयर’को अवार्ड जिते । उनले आफ्नै क्लबका सहकर्मी म्यानुएल निउर र इंग्लिस क्लब म्यानचेस्टर सिटीका केभिन डे ब्रुयानेलाई पछि पार्दै पहिलोपटक युरोपको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड जितेका हुन् । साथै, उनले गत सिजनका लागि ‘फरवार्ड अफ् द इयर’को अवार्ड पनि जिते ।

गत राति जेनेभामा युइएफएले वार्षिक अवार्ड घोषणा तथा नयाँ सिजनको ड्र सार्वजनिक कार्यक्रममा ३१ वर्षका लेवान्डोस्कीले युरोपको सर्वश्रेष्ठ खेलाडीको अवार्ड जिते । गत सिजन बार्यनले च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधि जित्दा लेवान्डोस्की नायक बनेका थिए । उनले च्याम्पियन्स लिगमा सिजनभरमा कूल १५ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए भने क्लबका लागि सिजनभरमा ५५ गोल गरेका थिए ।

आफ्नो करिअरमा पहिलोपटक प्रतिष्ठित अवार्ड जितेपछि लेवान्डोस्कीले खुसी व्यक्त गर्दै आफ्ना सहकर्मी, प्रशिाकदेखि सबैलाई धन्यवाद दिए । ‘यो अवार्ड जित्नु हरेक खेलाडीको सपना हुन्छ । आज मेरो सपना पूरा भयो । म यतिबेला निकै रमाइलो अनुभूत गरिरहेको छु । मेरो करिअरमा यो अवार्डले ज्यादै ठूलो अर्थ राख्नेछ । यो अवार्ड मेरो करिअरको संग्रहालयमा विशिष्ठ स्थानमा रहनेछ,’ लेवान्डोस्कीले भने ।

लेवान्डोस्कीले अघि थपे, ‘मैले व्यक्तिगत रूपमा यो अवार्ड जित्नुमा धेरैको भूमिका छ । म मेरा सहकर्मी, प्रशिक्षक, स्टाफ सबैलाई धन्यवाद दिन चाहन्छु । हामी हिजो सँगै थियौं । फेरि पनि सँगै हुनेछौं । हामी अझै धेरैथोक सँगै जित्नेछौं ।’

प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार ०५:४१
Loading...