१० खेलाडीमा सीमित बार्सिलोनाद्वारा सेल्टामाथि उसकै घरमा शानदार जित

काठमाडौं, असोज १६
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले दोस्रो खेलमा पनि जित हात पारेको छ । उसले नयाँ सिजनको दोस्रो खेलमा सेल्टा भिगोमाथि ०–३ को सहज जित निकाल्दै शतप्रतिशत नतिजालाई कायमै राखेको हो । नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा बार्सिलोनालाई जिताउन युवा स्टार अन्सु फाती र सर्जी रोवेर्टोले १–१ गोल गरे भने १ गोल उपहारमा पायो ।

यससँगै बार्सिलोनाले सेल्टाको घरेलु मैदानमा लामो समयपछि जित निकालेको छ । यसअघि सेल्टाका घरमा भएका ६ खेलमा बार्सिलोना लगातार जिविहीन बन्दै आएको थियो । तर, यसपटक उसले जितविहीन यात्रामा पूर्णविराम लगायो ।

बार्सिलोना खेलको ४२औं मिनेटमा १० खेलाडीमा झरेको थियो । डिफेन्डर क्लेमेट लेङलेट दोहोरो पाहेंलोका साथ रातो कार्ड पाएर मैदान छाडेका थिए । त्यसको केहीबेर अघि मात्रै अर्का डिफेन्डर जेरार्ड पिकेलाई विपक्षी खेलाडीलाई खराब ढंगले समातेर लडाएपछि रेफ्रीले सोझै रातोे कार्ड दिएका थिए । तर, सेल्टाका लागि खेलाडी अफसाइड रहेकाले उनको रातो कार्ड रद्द भएको थियो ।

सुरुआतबाटै बार्सिलोनाले पकड जमाएको खेलमा घरेलु टोलीविरुद्ध उसका लागि खेल सुरु भएको ११औं मिनेटमै युवा स्टार अन्सु फातीले गोल गरेका थिए । बक्सभित्र फिलिपे कोउटिन्होबाट पाएको पासमा १७ वर्षका फातीले चलाखीपूर्वक तल्लो बार च्यापेर हानेको प्रहारले सजिलै जाली चुमेको थियो । उनले सेल्टाका २ जना डिफेन्डरलाई बिट गर्दै निकै सुन्दर गोल गरेका थिए । यससँगै फातीले नयाँ सिजन सुरु भइकन ला लिगामा २ खेलबाट ३ गोल गरिसकेका छन् ।

त्यसपछि दोस्रो हाफ सुरु भएको केहीबेरमै बार्सिलोनाले उपहार गोल पायो । कप्तान मेस्सीले बक्सभित्रबाट चलाखीपूर्वक हानेको प्रहार सेल्टाका खेलाडी लुकास ओलाजालाई लाग्दै पोस्टमा छिरेको थियो । सो गोललाई आत्मघाती दिइयो । त्यसपछि पनि मेस्सीले १ गोल गरेका थिए । तर, उनको गोललाई रेफ्रीले मान्यता नदिँदा मेस्सीका नाममा नयाँ सिजनको दोस्रो लेखिन पाएन ।

त्यसपछि खेलको इन्जुरी समयको पाँचौं मिनेटमा डिफेन्डर रोवेर्टोले सुन्दर गोल गरेपछि खेल बार्सिलोनाले ०–३ ले जित्यो । अब बार्सिलोनाले लिगका सुरुआती दुवै खेल जितेर ६ अंक जोड्दै पाँचौं स्थानमा चढेको छ । पराजित सेल्टा ५ अंकसहित ११औं स्थानमा छ ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार २१:०५
Loading...