पहिलो हाफमा बार्सिलोना ०–१ ले अघि : बार्सिलोना १० खेलाडीमा झर्‍यो

काठमाडौं, असोज १६
स्पेनिस ला लिगा फुटबलमा अहिले बार्सिलोना र सेल्टा भिगोको खेल जारी छ । सेल्टाको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा पाहुना टोली बार्सिलोनाले ०–१ को अग्रता लिएको छ । सुरुआतबाटै बार्सिलोनाले पकड जमाएको खेलमा घरेलु टोलीविरुद्ध उसका लागि खेल सुरु भएको ११औं मिनेटमै युवा स्टार अन्सु फातीले गोल गरेका थिए ।

बक्सभित्र फिलिपे कोउटिन्होबाट पाएको पासमा १७ वर्षका फातीले चलाखीपूर्वक तल्लो बार च्यापेर हानेको प्रहारले सजिलै जाली चुमेको थियो । उनले सेल्टाका २ जना डिफेन्डरलाई बिट गर्दै निकै सुन्दर गोल गरेका थिए । यससँगै फातीले नयाँ सिजन सुरु भइकन ला लिगामा ३ गोल र प्रि–सिजनका खेलसहित ४ गोल गरिसकेका छन् ।

पहिलो हाफमा बार्सिलोनाका पिकेले सेल्टाका डेनिस स्वारेजलाई बल लिएर अघि बढिरहेका बेला च्याप्पै समातेर लडाएपछि पिकेलाई रेफ्रीले सोझै रातो कार्ड दिएका थिए । तर, डेनिस अफसाइड रहेकाले पिकेको रातो कार्ड फिर्ता भयो ।

तर, त्यसपछि बार्सिलोनाका डिफेन्डर क्लेमेट लेङलेटले दोहोरो पहेंलोका साथ रातो कार्ड पाएर मैदान ४२औं मिनेटमा छाडेपछि बार्सिलोना १० खेलाडीमा झरेको हो । अब दोस्रो हाफमा बार्सिलोनामाथि दबाब बढ्नेछ ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार १९:४५
Loading...