इन्जुरी समयमा गोल गर्दै सेभिल्लाले निकाल्यो महत्त्वपूर्ण जित

काठमाडौं, असोज १६
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा सेभिल्लाले लिगको दोस्रो खेलमा रोमाञ्चक जित निकालेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको खेलमा सेभिल्लाले आफ्नो घरेलु मैदानमा पाहुना टोली लेभान्टेमाथि इन्जुरी समयमा १ मात्रै विजयी गोल गरेर महत्त्वपूर्ण अंक जोड्न सफल भयो ।

यससँगै सेभिल्लाले नयाँ सिजनका सुरुआतका दुवै खेलमा स्पष्ट जित निकाल्न पनि सफल भएको छ । यसअघि उसले सिजनको पहलो खेलमा काडिजलाई १–३ ले हराएको थियो । दोस्रो खेल पनि जितेपछि सेभिल्लाले शतप्रतिशत विजयी यात्रा कायमै राखेको छ ।

आफ्नो घरमा सेभिल्लाले खेलभरि पकड राखे पनि गोलका लागि इन्जुरी समयसम्म नै कुर्नु परेको थियो । दोस्रो हाफमा मुनिएर हदादीले गरेको गोल रेफ्रीले भिएआरमार्फत् रद्द गरिदिँदा सेभिल्ला निराश बनेको थियो । तर, खेलको थप समयमा बेन्चबाट ७१औं मैदानमा लुका डे जोङको स्थानमा मैदान छिरेका युसुफ येन–नेसरीले गोल गर्दै घरेलु टोलीलाई कठिन जित दिलाए । ९२औं मिनेटमा उनले हेडिङमार्फत् बक्सभित्रबाट निकै राम्रो फिनिसङमा गोल गरेका थिए ।

अब यो जितपछि सेभिल्ला २ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको पाँचौं स्थानमा छ । पराजित लेभान्टे ३ अंकसहित १३औं स्थानमा छ ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार १८:४५
Loading...