निर्णायक भिडन्तमा आज लिभरपुल र आर्सनल आमनेसामने हुँदै

काठमाडौं, असोज १५
इंग्लिस प्रिमियर लिगका दुई हेभिवेट टोली लिभरपुल र आर्सनलबीच आज राति रोमाञ्चक खेल हुँदैछ । काराबाओ कपअन्तर्गत यी दुई बलिया टोली आज अन्तिम १६ मा एकाअर्काको सामाना गर्दैछन् । खेल लिभरपुलको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः३० बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको अर्को चरण जान लिभरपुल र आर्सनल आज एकअर्कालाई पन्छाउनुपर्ने दबाबमा छन् । खेल निर्धारित ९० मिनेटसम्म मात्रै हुनेछ । यदि ९० मिनेटमा खेलको छिनोफानो नभए नतिजाका लागि लागि सोझै पेनाल्टीमा लागिनेछ ।

यसअघिको चरणमा लिभरपुलले लिनकोल्न सिटीलाई ७–२ को फराकिलो अन्तरले हराएको थियो भने आर्सनलले लेस्टर सिटीलई उसकै घरमा ०–२ ले हराएको थियो । यता, लिभरपुल र आर्सनल प्रिमियर लिगको पहिलो लेगमा गत मंगलबार मात्रै भिडेका थिए, जहाँ लिभरपुलले आफ्नो घरमा आर्सनललाई ३–१ ले हराएको थियो । केही दिनकै बीचमा यी दुई टोली पुनः भिड्न लागेका हुन् ।

आर्सनल आज लिभरपुलको घरेलु मैदानमा उत्रिँदा अघिल्लो लिगमा भोगेको हारको बदला लिँदै अर्को चरणमा स्थान सुरक्षित गर्ने दाउमा छ । तर, एनफिल्डमा उसका लागि लिभरपुल तगारो बन्ने पक्का छ ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार १३:५७
Loading...