घरेलु मैदानमा लाजियोको पोस्टमा एटलान्टाद्वारा गोलको वर्षा

काठमाडौं, असोज १५
इटालियन सिरी ए लिग फुटबलमा उपाधि दाबेदार एटलान्टाले अर्को उपाधि दाबेदार लाजियोमाथि प्रभावशाली जित निकालेको छ । गत राति भएको खेलमा एटलान्टाले लाजियोविरुद्ध उसकै घरमा गोलको वर्षा गर्दै १–४ को जित निकालेको हो ।

लिगको दोस्रो खेल खेल्न लाजियोको घरमा उत्रिँदा एटलान्टालाई जिताउन ३ जना खेलाडीले गोल गरे । अलेक्जान्ड्रो डारियो गोमेजले २ गोल गरेका थिए । पराजित लाजियोका लागि फिलिपे काइसेडोले १ गोल गरे ।

एटलान्टाका लागि खेलको १०औं मिनेटमा रोविन गोसेन्सले पहलिो गोल गर्दा ३२औं मिनेटमा ह्यान्स हेटबोएरले गोल गरे । त्यसपछि ४१औं मिनेटमा एलेक्जान्ड्रो डारियो गोमेजले टिमका लागि तेस्रो र व्यक्तिगत पहिलो गोल गरे । त्यसपछि खेलको ५७औं मिनेटमा लाजियोका लागि काइसेडोले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर, खेलको ६१औं मिनेटमा गोमेजले नै व्यक्तिगत दोस्रो गोल गरेपछि खेल एटलान्टाले १–४ ले जित्यो । अब यो जितसँगै एटलान्टाले २ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित लाजियो ३ अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०१:५०
Loading...