डर्टमुन्डलाई हराउँदै बार्यनले जित्यो सुपर कपको उपाधि

काठमाडौं, असोज १५
वर्ष २०२० को जर्मन सुपर कप फुटबलको उपाधि गत सिजनको बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिखले जितेको छ । गत राति भएको उपाधि भिडन्तमा बार्यनले आफ्नो घरेलु मैदानमा लिगको अर्को बलियो टोली बोरुसिया डर्टमुन्डमाथि ३–२ को जित निकाल्दै उपाधिमा बाजी मार्न सफल भयो ।

यससँगै बार्यनले नयाँ सिजन सुरु भइकन दोस्रो उपाधि जितेको छ । यसअघि उसले युइएफए सुपर कपको उपाधि जितिसकेको छ । उसले अब फिफा क्लब विश्वकपको उपाधिका लागि भिडन्त गर्नेछ ।

बार्यनलाई जिताउनेक्रममा खेलको १८औं मिनेटमा कोरेन्टिन टोलिसोले पहिलो गोल गर्दा ३२औं मिनेटमा थोमस मुलरले दोस्रो गोल गरे । त्यसपछि डर्टमुन्डका लागि जुलियन ब्रान्डटले गोल गर्दै खेल २–१ बनाएका थिए । तर, दोस्रो हाफमा डर्टमुन्डले कमब्याक प्रयास गरे पनि खेलको अन्तिम समयमा गोल खाएर उपाधि गुमायो ।

खेलको ५५औं मिनेटमा डर्टमुन्डका लागि अर्लिङ हल्यान्डले गोल गरेर खेल २–२ बनाएका थिए । तर, खेलको ८२औं मिनेटमा जोसुवा किमिचले गोल गरेपछि खेल बार्यनले ३–२ ले जित्यो ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ००:४७
Loading...