मेस्सीसँग तुलना गर्दै ज्लाटनद्वारा रोनाल्डोको प्रशंसा

एजेन्सी, असोज १४
इटालियन क्लब एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । हालै एक अन्तर्वार्तामा कुरा गर्दै ज्लाटनले रोनाल्डोको तुलना स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीसँग गर्दै यतिबेला रोनाल्डोले अपेक्षाभन्दा राम्रो गरिरहेको बताए ।

स्मरण रहोस्, ज्लाटन रोनाल्डोका कडा आलोचकका रूपमा चिनिन्छन् । तर, यसपटक भने उनले रोनाल्डोको तारिफ गरेका छन् । त्यत्ति मात्रै, हैन, ज्लाटनले त विगतमा बार्सिलोनामा सहकर्मीसँग बनेर सँगै खेलेका मेस्सीको तुलना रोनाल्डोसँग गदै यतिबेला मेस्सीभन्दा रोनाल्डोलाई राम्रो मान्नुपर्ने बताएका छन् ।

इटालीको चर्चित पत्रिका ‘गाजेट्टो डेल्लो स्पोर्ट’सँग कुरा गर्दै ज्लाटनले बढे उमेरबीच पनि रोनाल्डोले धेरै राम्रो गरिरहेको बताएका छन् । साथै, उनले आफू अहिले पनि युरोपियन टप लिगमा खेलिरहेको उल्लेख गर्दै उनले आफ्नो उमेरमा पुग्दा रोनाल्डो र मेस्सी फुटबलमा हुन्छन् वा हुँदैनन् अथाव भए पनि कहाँ हुन्छन् भनेर आफू हेर्ने पनि बताएका छन् । ज्लाटनले घुमाउरो पारामा रोनाल्डो र मेस्सीले आफ्नो उमेरसम्म फुटबल खेल्न नसक्ने आशय पनि राखेका छन् ।

‘म अहिले ३९ वर्षको भएँ । र, अझै युरोपियन टप लिगमा खेलिरहेको छु । म अहिले पनि राम्रो गरिहेको छु । तर, मेरो उमेरमा रोनाल्डो र लियो कहाँ हुन्छन् र कसरी खेलिरहेका हुन्छन्, म त्यो हेर्नेछु,’ ज्लाटनले भनेका छन्, ‘उनीहरूमध्ये को उत्कृष्ट भन्ने कुरा म त्यसबेला मात्रै भन्न सक्नेछु ।’

ज्लाटनले रोनाल्डो अहिलेको स्थितिमा मेस्सीभन्दा उत्कृष्ट अवस्थामा रहेको बताए । ‘मानिसले मलाई रोनाल्डोको आलोचक भन्छन् । तर, म उनको शुभचिन्तक नै हुँ । उनी अहिले साँच्चै राम्रो गरिरहेका छन्, मेस्सीको भन्दा धेरै राम्रो । उनले धेरै ठाउँबाट खेले, खेलेका सबै ठाउँबाट जिते । उनी ज्यादै मेहनती खेलाडी हुन् । म उनका यी कुरालाई झुठ भन्न सक्दिनँ,’ ज्लाटनले भनेका छन् ।

ज्लाटनले इटालियन लिगमा धेरै गोल गर्न नसकिने भन्दै रोनाल्डोको गोल संख्याबाट त्यो साबित हुने बताए । ‘तर, यो इटाली हो, यहाँ सजिलो छैन । र, उनले पहिलाको भन्दा यहाँ कम गोल गर्दा मलाई आश्चार्य लागेको पनि छैन । किनभने, यहाँका टिमविरुद्ध लगातार र धेरै गोल गर्न कठिन छ,’ ज्लाटनले थपे ।

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार १४:३२
Loading...