हाजार्डलाई छाडेन चोटले : खेल्न नपाई फेरि घाइते

एजेन्सी, असोज १४
स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रमुख खेलाडी इडेन हाजार्ड फेरि घाइते भएका छन् । टोलीका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले आज हाजार्डको चोटबारे जानकारी दिँदै बेल्जियन खेलाडीले प्रशिक्षण दौरान चोट बोकेको पुष्टि गरे ।

रियलले आज राति लिगको तेस्रो साताको खेल रियल भाल्लाडोलिडसँग आफ्नो घरमा खेल्दै छ । सो खेल हुन केही घन्टा मात्रै बाँकी छँदा जिदानले हाजार्ड घाइते भएको पुष्टि गरे । जिदानका अनुसार हार्जाले चोटका कारण ३ देखि ४ साता (एक महिना) सम्म खेल गुमाउनेछन् ।

अघिल्लो दिन भाल्लाडोलिडसँगको खेलअघि आयोजित पत्रकार सम्मेलनमा सरिक हुँदै जिदानले हाजार्ड चोटबाट १०० प्रतिशत फिट हुने नजिक रहेको बताएका थिए । साथै, जिदानले भाल्लाडोलिडविरुद्ध हुने खेलका लागि हाजार्डलाई टोलीमा पनि राखेका थिए । हाजार्डसँगै अर्का घाइते खेलाडी मार्को एसेन्सियो चोटमुक्त हुँदै टोलीमा फर्किएका थिए ।

प्रशिक्षण दौरान हाजार्डले मांशपेसीको चोट बोकेका हुन् । उनलाई सामान्य अवस्थामा रिकभर हुन एक महिनासम्म लाग्नेछ । गत समर विन्डोमै इंग्लिस क्लब चेल्सीबाट १०० मिलियन युरोमा रियल पुगेका हाजार्ड लगातार चोट बोक्दै आएका छन् । गत सिजन उनले कूल २३ खेल खेल्दै मात्रै १ गोल गरेका थिए । यस सिजन त उनले मैदान उत्रिनै पाएका छैनन् ।

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार १३:२५
Loading...