मेस्सी र रोनाल्डोमाथि ज्लाटनको ‘पेचिलो’ टिप्पणी

एजेन्सी, असोज १४
हाल इटालियन क्लब एसी मिलानबाट खेलिरहेका स्वीडेनका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले बार्सिलोनाका लिओनल मेस्सी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भनेर आफूले अन्तिम धारणा राख्ने समय आउन बाँकी नै रहेको बताएका छन् । विगतमा बार्सिलोनाबाट मेस्सीसँग सहकर्मी बनेर खेलिसकेका ज्लाटन रोनाल्डोका कडा आलोचकका रूपमा चिनिन्छन् ।

विगतमा युरोपका हेभिवेट क्लबहरूबाट खेलिसकेका उनी अमेरिकन लिग हुँदै हाल युरोपियन टप लिगमै खेलिरहेका छन् । उनी गत जनवरी विन्डोमा मिलानमा अनुबन्ध भएका थिए । उनी सिजन २०२०–२१ सम्म मिलानमै रहनेछन् । हालै इटालीको चर्चित पत्रिका ‘गाजेट्टो डेल्लो स्पोर्ट’सँगको अन्तर्वार्ता दौरान मेस्सी र रोनाल्डोको उत्कृष्टताबारे सोधिएको प्रश्नमा ज्लाटनले घुमाउरो पारामा पेचिलो जवाफ दिएका छन् ।

हाल ३५ वर्ष पुगेका रोनाल्डो र ३३ वर्ष पुगेका मेस्सी कति उत्कृष्ट खेलाडी हुन् भन्ने कुरा उनीहरूको उमेरले बताउने ज्लाटनले बताएका छन् । रोनाल्डो र मेस्सीले आफ्नो उमेरमा पुग्दा कति उत्कृष्ट प्रदर्शन गर्छन्, त्यसबाट आफूले उनीहरूको उत्कृष्टताबारे अन्तिम धारणा राख्ने ज्लाटनले बताएका छन् ।

ज्लाटनले रोनाल्डो र मेस्सीले आफ्नो हालको उमेर ३९ वर्षसम्म पुग्दा आफ्नै जस्तो खेल्न नसक्ने आशयको भनाइ राखेका छन् । ज्लाटन आजको मितिले ३ दिनमा ३९ वर्ष पुग्दैछन् ।

‘उनीहरू मेरो उमेरमा कहाँ हुनेछन् र कस्तो प्रदर्शन गर्नेछन्, म त्यो हेर्नेछु,’ ज्लाटनले भनेका छन्, ‘तब मात्रै म उनीहरू कस्ता खेलाडी हुन् भनेर मेरो धारणा राख्नेछु । मेरा लागि अहिले त्यो भन्ने समय आइसकेको छैन ।’

ज्लाटनले रोनाल्डो र मेस्सी दुवै अद्भुत खेलाडी भए पनि उनीहरूले करिअरको अन्त्य कस्तो अवस्थाबाट गर्छन् भन्ने कुरा आफूले हेर्ने बताए । ‘३५ वर्षको हुँदा म म्यानचेस्टर युनाइटेडमा थिएँ । यो सजिलो थिएन । तर, मेरो पहिलो सिजन हामीले तीन उपाधि जित्यौं । मानिसका कति अनुमान तोडिँदै थिए । तपाईंलाई थाहा छैन, मलाई घृणा गर्ने कति छन्,’ ज्लाटनले भने ।

ज्लाटनले मेस्सीले कहिल्यै बार्सिलोना नछाड्ने बताए । ‘मैले लियोको बारेमा के भन्ने ? उनले अस्ति भर्खर किन क्लब छाड्ने सोच बनाए, मलाई थाहा छैन । तर, मलाई यो थाहा छ कि– उनले कहिल्यै बार्सिलोना छाड्दैनन् । किनभने, त्यो उनको घर हो,’ ज्लाटनले भनेका छन्, ‘उनीसँग साँच्चै अद्भुत प्रतिभा छ । तर, पछिल्ला वर्ष उनको प्रदर्शनबाट म खुसी छैन ।’

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार ०९:०६
Loading...