सुपर कपको उपाधिका लागि आज बार्यन र डर्टमुन्डको महाभिडन्त हुँदै

काठमाडौं, असोज १४
वर्ष २०२० अन्तर्गत जर्मन सुपर कप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ, जहाँ बुन्डेसलिगाका सबैभन्दा हेभिवेट टोलीहरू बार्यन म्युनिख र बोरुसिया डर्टमुन्ड आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार राति १२ः१५ बजेबाट बार्यनको घरेलु मैदान एलिएन्ज रंगशालामा सुरु हुनेछ ।

यसअघि नै युइएफए सुपर कपको उपाधि जितिसकेको बार्यन आज आफ्नै घरमा हुने सुपर कप जितेर सिजन २०२०–२१ को दोस्रो उपाधि जित्ने दाउमा छ । यसअघि उसले युइएफए सुपर कपमा स्पेनिस सेभिल्लालाई हराएर सिजनको पहिलो उपाधि जितिसकेको छ ।

आज राति घरमा हुने उपाधि भिडन्तमा उत्रिँदा बार्यन चर्को दबाबमा हुनेछ । यसअघि लिग खेलमा बार्यनलाई होफेनहेइमले ४–१ को लज्जास्पद हार चखाएर सिजनको सुरुमै ठूलो झट्का दिएको छ । बार्यन आज यस खेलबाट अघिल्लो हारको पीडा भुलाउने प्रयास गर्नेछ । साथै, आफ्नो खास प्रतिस्पर्धीलाई हराएर उपाधि च्याम्पियन बन्ने दाउमा पनि छ ।

बार्यन र डर्टमुन्डले खेलेका पछिल्ला ३४ खेलमा १६ खेलमा बार्यनले जितेको छ भने डर्टमुन्डले १२ खेल जितेको छ । ६ खेल भने बराबरीमा सकिएका छन् । तर, पछिल्ला दुई खेलमा भने बार्यनले डर्टमुन्डलाई हराएको छ । गत वर्षको सुपर कपमा डर्टमुन्डले बार्यनलाई २–० ले हराएर च्याम्पियन बनेको थियो । डर्टमुन्ड आज पनि बार्यनविरुद्ध गत वर्षकै जस्तो कथा दोहोराउने दाउमा छ ।

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार ०८:३०
Loading...