‘इतिहासकै महँगा’ खेलाडी बनाएर सिटीले पोर्चुगिज डिफेन्डर भित्र्यायो

एजेन्सी, असोज १४
इंग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगलका युवा डिफेन्डर रुबेन डियासलाई औपचारिक रूपमा अनुबन्ध गरेको घोषणा गरेको छ । सिटीले अघिल्लो दिन पोर्चुगिज क्लब बेनफिकाबाट डियासलाई ६५ मिलियन पाउन्डमा भित्र्याएको घोषणा गरेको हो ।

यससँगै डियास अब सिटीको इतिहासमै सबैभन्दा महँगा खेलाडी बनेका छन् । सिटीले आफ्नो इतिहासमा कुनै एक खेलाडीका लागि खर्चेको सबैभन्दा ठूलो सरुवा रकम यही हो । त्यो पनि डिफेन्डरका लागि । गत वर्ष सिटीले स्पेनिस एथ्लेटिको मड्रिडबाट रोड्रीलाई भित्र्याउँदा ६३ पाउन्ड खर्चेको थियो ।

क्लब सिटीले २३ वर्षीय सेन्टर ब्याक खेलाडीसँग पहिलो चरणमा आगामी ६ वर्षसम्मका लागि सम्झौता गरेको छ । हालै मात्र पुराना अर्जेन्टिनी डिफेन्डर निकोलास ओटामेन्टीले क्लब छाडेपछि सिटीले डिफेन्स लाइन कमजोर हुने चिन्ताले पोर्चुगलका खेलाडी ल्याएको हो ।

सिटीका पेप ग्वार्डिओलाले यस समर विन्डोमा तेस्रो साइनिङका रूपमा डियासलाई भित्र्याएका हुन् । यसअघि डिफेन्डर नाथन एके र फरवार्ड फेरार्न टोरेज अनुबन्ध भइसकेका छन् ।

बेनफिकाकै एकेडेमीबाट हुर्किएका डियासले हालसम्म सिनियर टोलीका लािग कूल १ सय ३७ खेल खेलेका छन् । उनले हालसम्म पोर्चुगलको राष्ट्रिय टोलीका लागि पनि १९ खेल खेलिसकेका छन् ।

ग्वार्डिओलाले डियासलाई लिजेन्ड खेलाडी भिसेन्ट कोम्पनीको खास उत्तराधिकारीका रूपमा हेरेका छन् । कोम्पनीले क्लब छाडेपछि सिटीको रक्षापंक्ति लगातार फितलो बन्दै आइरहेको छ । अब डियासको अनुबन्धले त्यो समस्या कम हुनेछ ।

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार ०८:१७
Loading...