‘माफी माग्दै’ फ्यानहरूसँग मेस्सीले गरे यस्तो अपिल

एजेन्सी, असोज १४
स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीले नयाँ सिजन सुरु हुँदै गर्दा आफ्ना र क्लबका समर्थकहरूसँग विशेष अपिल गरेका छन् । स्पेनिस पत्रिका ‘स्पोर्ट’सँग कुरा गर्दै उनले पछिल्लो समय क्लबमा उत्पन्न विभिन्न उचारचढावहरू पन्छाएर आफूहरू नयाँ ढंगले अघि बढ्न तयार रहको बताएका छन् । उनले फ्यानहरूलाई अनुरोध गर्दै सधैंझैं आफ्ना खेलाडी र टिमलाई समर्थन गर्न भनेका छन् ।

‘पछिल्लो समय क्लबमा जे–जे उत्तारचढाव देखिए, अब हामी ती सबैलाई पन्छाएर अघि बढ्नुपर्छ । यदि हामी खराब अवस्थाबाट राम्रा दिन चाहन्छौं भने त्यसका लागि सबै हिसाबले तयार हुनुपर्छ,’ मेस्सीले भनेका छन् ।

मेस्सीले अघि थपेका छन्, ‘हाम्रा उद्देश्य र लक्ष्यहरू प्राप्त गर्ने एक मात्रै तरिका भनेकै जोस र उत्साह हुन् । अनि एकजुट भई सबै एकै दिशामा अघि बढ्ने । तब मात्रै हामीले आफ्ना उद्देश्य प्राप्त गर्न सक्छौं ।’

मेस्सीले फ्यानहरूका नाममा अनुरोध गर्दै भनेका छन्, ‘हाम्रा समर्थकहरूलई मेरो विशेष अनुरोध छ कि– हाम्रा खेलाडी र टिमलाई समर्थन गर्न नछाड्नुहोस् । समस्या र उत्तारचढाव सबैमा हुन्छन् । अब हामी फेरि उठ्न र नयाँ यात्रा गर्न चाहन्छौं । त्यसका लागि हाम्रा फ्यानहरू नै सबैभन्दा ठूलो ऊर्जा हुन् ।’

मेस्सीले यदि कुनै बेला आफ्ना तर्फबाट गल्ती भएको भए क्षमा पनि मागेका छन् । साथै, उनले आफूले सधैं बार्सिलोनाको भलो चाहने पनि बताएका छन् । ‘यदि कुनैबेला, कुनै दिन मेरा तर्फबाट गल्ती भए त्यसको उत्तरदायित्व म लिन्छु । र, क्षमा चाहन्छु । क्लबसँग मेरो असहमति थियो । र, छ पनि । तर, म सधैं राम्रो बार्सिलोना चाहन्छु ।’

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार ०६:४७
Loading...